उम्मेदवारी दर्ता माघ ६ मा, यस्तो छ प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका



काठमाडौँ । निर्वाचन आयोगले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगले आज आइतबार बसेको बैठकबाट निर्णय गर्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। यो कार्यक्रम आयोगको वेबसाइट र नेपाल राजपत्रमा समेत प्रकाशन गरिने जनाइएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ।
मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। त्यसपछि सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिनेछ। माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
उम्मेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।


समानुपातिकतर्फ यस्तो छ निर्वाचन तालिका
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुनेछ। यसअन्तर्गत, मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्नुपर्नेछ।
निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रकाशन गरिनेछ। पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने कार्यक्रम छ।
माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गरिने आयोगले जनाएको छ। आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।





