नेपालका व्यवसायी गुरुङलाई तमु समाज यूकेद्वारा उत्कृष्ट समाज सेवा सम्मान



लन्डन । तमु समाज यूकेले नेपालका सफल व्यवसायी तथा समाजसेवी सुनिल गुरुङलाई न्यानो स्वागतसहित ‘उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा सम्मान गरेको छ ।
गत ११ नोभेम्बर संस्थाकी अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेको सभापतित्वमा लन्डनस्थित सडबरी ग्रीनफोर्डमा एक कार्यक्रम गरि उनलाई सम्मान गरिएको हो ।
समारोहमा अध्यक्ष घलेले सम्मानपत्र र खादा अर्पण गरिन् भने संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले गुरुङ परम्परागत फेटा लगाएर सम्मान गरे ।
आमा समूहकी अध्यक्षले पुष्पगुच्छा अर्पण गर्दै शुभकामना व्यक्त गरिन् । सम्मानपत्र वाचन संस्थाका पूर्व महासचिव धरम बल गुरुङले गरेका थिए।
कार्यक्रममा संस्थाका निवर्तमान महासचिव गुरुङले स्वागत मन्तव्य दिँदै समाजका गतिविधि र उद्देश्यबारे विस्तृत जानकारी दिए ।
त्यसपछि संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले अतिथिप्रति शुभकामना व्यक्त गर्दै समाजको निरन्तर योगदानमा सहकार्यको प्रतिवद्धता जनाए ।
समाजका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले व्यवसायी तथा समाजसेवी गुरुङको संक्षिप्त परिचय दिए ।
सम्मान ग्रहण गर्दै गुरुङले समाजको आतिथ्य र सम्मानप्रति हार्दिक आभार व्यक्त गरे ।
‘तपाईंहरूले गरेको स्वागत सम्मानले म अत्यन्तै भावुक र ऋणी भएको छु। यस अवसरमा मैले तमु समाजका गतिविधि र उद्देश्यबारे नजिकबाट जान्ने र बुझ्ने मौका पनि पाएको छु, जसले मलाई तमु समाजप्रति अझ गहिरो सम्मान र सकारात्मक धारणा राख्न प्रेरित गरेको छ’- उनले भने ।
अध्यक्ष घलेले गुरुङलाई स्वागत सम्मान गर्न पाउँदा अत्यन्त हर्ष र गर्वको अनुभूति भएको बताइन्।
उनको व्यवसायिक सफलता, सामाजिक योगदान र विनम्र स्वभावले सबैलाई प्रेरणा प्रदान गरेको घलेको भनाइ थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्वअध्यक्षहरू शिवचन्द्र गुरुङ र शिव कुमार गुरुङ, आमा समूहकी अध्यक्ष श्रीमती बिमल गुरुङ, सल्लाहकारहरु सुश्री बिजु गुरुङ, धरम बल गुरुङ, कार्यसमिति सदस्यहरू, जेष्ठ नागरिक तथा समाजका शुभेच्छुकहरूको उपस्थिति थियो ।

को हुन् गुरुङ?
गुरुङ गण्डकी प्रदेश कास्की पोखरा महानगरपालिका–१०, बुद्ध चोकका स्थायी बासिन्दा हुन्। स्वर्गीय जमदार बिलबहादुर गुरुङ र श्रीमती हरशुवा गुरुङका कान्छा सुपुत्र गुरुङ परिवार इन्धन तथा पेट्रोलियम व्यवसायमा लामो समयदेखि संलग्न छ ।
स्व. जमदार बिलबहादुर गुरुङले पेट्रोल पम्प सञ्चालनमार्फत गण्डकी क्षेत्रको ऊर्जा आपूर्तिमा उल्लेखनीय योगदान गरेका थिए । त्यही परम्परालाई निरन्तरता दिँदै गुरुङले इन्धन आपूर्ति र वितरण गर्दै आएका छन्।
उनी नेपाल आयल निगमसँग आवद्ध इन्धन आपूर्तिकर्ता तथा ट्यांकर सेवा सञ्चालक साथै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको वरिष्ठ उपाध्यक्ष पनि छन् ।
व्यवसायिक सफलतासँगै गुरुङ खेलकुद तथा सामाजिक सेवामा पनि अत्यन्त सक्रिय छन् ।
उनी नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य, कास्की जिल्ला बक्सिङ संघ, रामघाट युवा क्लब, एल. जी. एसोसिएसन, सहारा क्लब पोखराको सल्लाहकार तथा फिट नेपाल स्पोट्र्स प्लेक्सका संस्थापक हुन्।
साथै, आहा–रारा गोल्डकप आर्थिक संकलन समितिको संयोजकका रूपमा पनि उनको योगदान छ ।
त्यसैगरी, उनी बुल्समेनका संरक्षक, गण्डकी प्रदेश खेलकुद परिषद्का सल्लाहकार तथा विभिन्न सामाजिक संस्थाका सल्लाहकार छन् ।
पोखरास्थित धार्मिक बौद्ध गुम्बाहरूमा पनि उनको सक्रिय सहभागिता छ । स्वर्गीय पिता जमदार बिलबहादुर गुरुङको परिकल्पनामा स्थापित रामघाटस्थित बौद्ध सदन गुम्बा र अन्य धार्मिक स्थलहरूमा समेत निरन्तर योगदान दिँदै आएका छन्।



