आइतबार, ७ डिसेम्बर, २०२५
07:17 | १३:०२

लन्डनमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

नेपाली लिङ्क नोभेम्बर १२, २०२५

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ४ (साविक भल्चौर गाविस-७) का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको उनीसँगै बस्ने मनोज कुँवरले जानकारी दिए।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर भोलिपल्ट सर्टिफिकेट लिदै थिए।

रुम मेट मनोजले दिएको जानकारी अनुसार, सोमबार बिहान ९ बजेतिर योमनले ‘अलि अलि बिरामी छु, टाउको दुखेको छ र वमिट पनि भयो’ भनेका थिए। सायद खाना नपचेर होला वमिट भएको भन्ने सोचेर मनोजले पनि सामान्य रुपमै लिए। सोमबार दिउँसो ३ बजे योमन साथीसँगै सेन्ट्रल लन्डन गएर नेपाली रेष्टुरेन्टमा मःमः खान भनि निस्केका थिए।

मनोजले राती ९ः१९ बजे योमनलाई फोन गर्दा उनीहरु वाटरलु रहेछन्। पछि घर आएर राति ११ बजेतिर खाना बनाउन थाले योमन।

मनोजकै भनाइमा, राति १२ बजेतिर खाना खाएर १ः३० बजेतिर उनी र योमन एउटै कोठामा सुते। बिहान ७ः४० को अलार्म बजेपछि मनोज उठे। तर ८ बजे शुरु हुने कामका लागि ७ बजे नै निस्कने योमन उठेका थिएनन्।

काममा जान ढिला भइसकेकाले मनोजले हात समाएर ‘योमन, उठ् काममा जान ढिला भयो’ भने, साथी बोलेन। मनोजले उनको हात चिसो रहेको महसुस गरे। ७ः५० बजेसम्म पनि शरीरले कुनै प्रतिक्रिया नदिएको, श्वासप्रश्वास चाल पनि नभएको पाएपछि उनले तुरुन्त ७ः५३ मा एम्बुलेन्सलाई फोन गरे। मेडिकल टिमको सुझाव अनुसार मनोजले तत्काल सिपीआर पनि गरेका थिए। ८ बजेतिर स्वास्थ्यकर्मी आएर जाँच गर्दा सुगर लेभल २ मात्र थियो। सुगर लेभल ५.० पुग्ने बेलासम्म शरीरले सुगर लिएन अनि मंगलबार बिहान ९ः३० बजे स्वास्थ्यकर्मीले मृत घोषणा गरे।

घटनास्थलमा नेपाली

मेडिकल टिमले पुलिस अनि पुलिसले पनि यो केस सिआइबीलाई ह्याण्डओभर गरि ‘नेचुरल डेथ’ भनेको मनोजले बताए।

फरेन्सिक टिमले प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि नर्थविक पार्क अस्पताल लगिएको छ।

मनोज आफूसँगै बस्ने साथीको असामयिक निधनपछि विक्षिप्त छन्। ‘उसलाई स्वास्थ्य समस्या पनि थिएन, डिप्रेसनमा गएको पनि होइन। काम पहिला म्याक डोनाल्ड्समा गर्दथ्यो, पछि भिलेज होटलमा पाएको थियो’, उनले भने, ‘हेर्दा हेर्दै साथी अस्तायो, कल्पना पनि गर्न सकिरहेको छैन।’

घटनास्थलमा रहेका एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र उनका साथीहरुसँग सरसल्लाह गरि अन्त्येष्टिको प्रबन्ध गरिने जनाए।

‘हामी स्वर्गीय चन्दको परिवारका लागि आर्थिक, नैतिक सहयोगका साथ समुदायमा जनचेतना जगाउने कार्यमा अझ बढी सक्रिय हुन्छौँ’, अध्यक्ष पुडासैनीले भने, ‘नेपालबाट आएका विद्यार्थी भाइबहिनीहरुले अहिले धेरै समस्या भोगेका छन्। बसाइ, जागिर, मानसिक स्वास्थ्य, सुरक्षा आदि। उनीहरुमा जनचेतना जगाउन अत्यन्त खाँचो देखिएको छ। हामी सबै यसमा लाग्न जरुरी छ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू