शनिबार, १५ नोभेम्बर, २०२५
17:00 | २२:४५

बेलायतमा सम्मानित भए नेपाली वरिष्ठ सर्जन

नेपाली लिङ्क नोभेम्बर १५, २०२५

लन्डन । नेपालमा मिर्गौला र कलेजोको आधुनिक प्रत्यारोपण सेवामा अग्रणी नेतृत्व गर्ने एकजना चिकित्सक बेलायतमा सम्मानित भएका छन् ।

दि रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले प्राध्यापक डा. पुकार चन्द्र श्रेष्ठलाई प्रतिष्ठित फेलोसीप (एफआरसीएस) प्रदान गरेको हो ।

एडिनबर्गस्थित रोयल कलेज अफ सर्जनको प्लेफेयर हलमा आयोजित एक समारोहबीच कलेजकी पहिलो महिला अध्यक्ष डा. क्लेयर म्याकनटले एफआरसीएस डिप्लोमा प्रदान गरेकी थिइन् ।

सो अवसरमा कलेजका निवर्तमान अध्यक्ष प्राध्यापक रोवन पाक्र्ससहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

उक्त पुरस्कारका लागि बेलायतको इष्ट एङ्ग्लिया विश्वविद्यालयका कन्सल्टेन्ट सर्जन तथा एसोसिएट प्रोफेसर डा. कमलराज अर्याल ‘एफआरसीएस’ ले सहजीकरण गरेका थिए ।

दि रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग १५०५ इस्वी सम्वतमा स्थापित विश्वको सबैभन्दा पुरानो ब्रिटिश सर्जिकल संस्था हो ।

प्रा. श्रेष्ठले सन् २००० मा एडिनबर्ग रोयल इन्फर्मरीबाट प्रत्यारोपण तालिम सुरु गरेका थिए । पछि प्रख्यात प्रत्यारोपण सर्जन प्राध्यापक डी. ट्याल्बोटबाट न्यूक्यासलको फ्रिम्यान अस्पतालमा तालिम लिए ।

बेलायतमा ६ वर्ष बसेपछि श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रत्यारोपण सेवा निर्माण गर्न सरकारी पद छोडेर नेपाल फर्किएका थिए ।

उनले सन् २००८ मा वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरे र नेपालमा समर्पित प्रत्यारोपण अस्पताल शहीद धर्म प्रत्यारोपण केन्द्र स्थापना गरे ।

श्रेष्ठले सन् २०१६ मा पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरे भने २०१७ मा ब्रेन डेड (मृत मस्तिष्क) दाताबाट देशको पहिलो प्रत्यारोपण गरेका थिए ।

आजसम्म उनले ९९ प्रतिशत सफलता दरका साथ एक हजार ६ सय बढी मिर्गौला प्रत्यारोपण र ९३ प्रतिशत भन्दा बढी सफलताका साथ ३५ वटा कलेजो प्रत्यारोपण गरिसकेका छन्।

सन् २०२५ मा उनले टोलीको नेतृत्व गर्दै ब्रेन डेथ दाताबाट नेपालको पहिलो संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण हासिल गरे, जुन प्रक्रिया विश्वभर पनि दुर्लभ छ ।

चिकित्सक श्रेष्ठले मृत मस्तिष्क अङ्गदान ऐन (२०१६) को मस्यौदा तयार गर्ने, सार्वजनिक अस्पतालहरूमा डायलाइसिस र मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने, प्रदेशहरूमा सेवा विस्तार र राष्ट्रव्यापी अङ्गदान जागरूकता अभियानहरूको नेतृत्व गर्ने कार्यमा केन्द्रीय भूमिका खेलेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू