सोमबार, वैशाख १७, २०८१
14:56 | १९:४१

५१ दिनमा ‘छक्का पञ्जा ४’

रासस अप्रिल २२, २०२३

काठमाडौं । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ ५१ दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन् ।

अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताए । “हामीले चलचित्र निर्माण गरेदेखि नै एकाउन्न दिनको यात्रा तय गरिरहेका छौँ, यसले दायित्व थपेको छ, हामीले अझैँ मेहनती भएर दर्शक मन जित्नुपर्ने हुन्छ”, गिरीले भने ।

दर्शकले सामाजिक सञ्जालसँगै विविध माध्यममार्फत ‘छक्का पञ्जा ५’ ल्याउनुपर्ने माग राखिरहेका छन् ।

‘छक्का पञ्जा’ को पाँचौँ शृङ्खला घोषणा हुने सम्भावना रहेपनि आधिकारिक निर्णय नभएको अर्का निर्माता तथा कलाकार निर्मल शर्माले बताए । “हामी समूहमा छलफल गरेर निर्माण लिनेछौँ, हाम्रो एकाउन्न दिनको यात्रामा रु २० करोड बढीको कूल व्यापार भएको छ, दर्शकले दिनुभएको मायाले हामीलाई अगाडि बढ्न हौसला मिलेको छ”, कलाकार शर्माले भने ।

चलचित्रमा दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ लगायत कलाकारले अभिनय गरेका छन् ।

‘छक्का पञ्जा’ को तेस्रो शृङ्खलासम्म अभिनेत्री निरौलाले नै निर्देशन गरेपनि चौथो शृङ्खला हेमराज बिसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू