शुक्रबार, वैशाख २१, २०८१
06:01 | १०:४६

नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा

रासस फ्रेब्रवरी ९, २०२३

नेपाल चलचित्र प्राविधिक सङ्घद्वारा बिहीबार आयोजित ११ औँ नेफ्टा फिल्म अवार्ड उद्घाटन समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ नेफ्टाको पुरस्कार नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुस्कर लामालाई प्रदान गर्दै । तस्बिर- किरणराज विष्ट, रासस

काठमाडौं । अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक संघले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा गर्ने अवार्ड कार्यक्रमको घोषणा गरेको हो ।

संघका अध्यक्ष पुष्कर लामाले यस अवार्ड कार्यक्रमले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन सहयोग गर्ने बताए । उनले भने, “नेफ्टा अवार्ड जेठ १३ गते विधिवत्रूपमा सञ्चालन हुनेछ । अमेरिकामा आयोजना गरिनुको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्नु हो ।”

अवार्ड कार्यक्रमका लागि जुरीले २०७९ वैशाखदेखि चैत मसान्तसम्म रिलिज भएका चलचित्र हेर्ने काम सुरु भइसकेको लामाले बताए । चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष भुवन केसीले नेफ्टा अवार्ड कार्यक्रमले अन्तर्राष्ट्रिय दर्शकसम्म पुरयाउन सेतुको काम गर्नेमा सहमति जनाए ।

उनले भने, “अमेरिकामा अवार्ड कार्यक्रम गर्नु फलामको चिउरा चपाउनुजस्तो हो । संघले यो हिम्मत गरेको छ । नेपाली चलचित्रको दर्शक बढाउनका लागि यसले खेल्ने भूमिकामा बोर्डले सहयोग र सहकार्य गर्नेछ ।”

अध्यक्ष केसीले आयोजक समूहलाई शुभकामना दिँदै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ नेपाली चलचित्र क्षेत्रको विकासको बाधक भएको गुनासो गरे । उनले भने, “नेपाली चलचित्रको अहिलेसम्म विकास हुन नसक्नु मुख्य कारण चलचित्र ऐन, २०२६ हो । एनालगबाट सुरु भएको चलचित्र डिजिटल प्रविधिको अभ्यासमा छ तर २०२६ सालमा बनेको ऐन अहिले व्यावहारिकरूपमा प्रभावकारी छैन ।”

अध्यक्ष लामाका अनुसार अमेरिकाको डल्लास टेक्सासमा छ हजार पाँच सय क्षमता भएको हलमा कार्यक्रम आयोजना हुनेछ । यसअघि ४२ विधामा दिइने अवार्ड यसपटक केही संशोधन हुने बताइएको छ ।

कार्यक्रममा नेपालीसँगै बलिउड र हलिउड चलचित्रका कलाकारको सहभागिता हुनेछ । अवार्ड कार्यक्रममा नेपालको सात प्रदेशको सांस्कृतिक झलक र झाँकी प्रदर्शनी हुने आयोजक समूहले जानकारी दिएको छ । लामाले आवश्यकताअनुसार ५५ देखि ६० जना नेपाली समूह जाने जानकारी दिए ।

नेपाली दर्शक धेरै भएको देशमा संघले अवार्ड कार्यक्रम गर्दै आएको अध्यक्ष लामाले बताए । नेफ्टा अवार्ड कार्यक्रम यसअघि दुबई, हङकङ, कतार र युएईमा आयोजना गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू