मंगलबार, चैत ६, २०८०
03:37 | ०९:२२

आर्डनलाई प्रतिस्थापन गर्दै न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्री भए क्रिस

रासस /एएफपी जनवरी २५, २०२३

तस्बिर एएफपी

वेलिङ्टन, ११ माघ- न्यूजिल्याण्डका नयाँ प्रधानमन्त्रीले आफ्ना पूर्ववर्ती अधिकारी जसिन्डा आर्डनले झै प्रशंसक र समर्थको भीड एकत्रित गर्न नसके पनि उनी राजनीतिक समझ, पहिरनमा कमजोर चेत र ‘डायट कोक’का निम्ति आफ्नो देशका जनतामाझ सुपरिचित छन् ।

४४ वर्षीय क्रिस हिप्किन्सले बुधबार बिहान २० वर्षदेखिको आफ्नो साथी आर्डनलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए ।

राष्ट्रको कार्यकारी प्रमुखको उत्तरदायित्व औपचारिकरूपमा बहन गरेसँगै उनले आफूमाथि सबैभन्दा ठूलो दायित्व आएको बताए । भावी चुनौती सामना गर्न आफू उत्साहित र आल्हादित भएको पनि उनले बताए । स्पष्टवक्ता हिप्किन्स कोभिड–१९ नियन्त्रणका शिल्पकार सहृदयी राजनीतिज्ञका रूपमा परिचित छन् । 

देशको सर्वोच्च पदमा पुग्न लागेको खबर सार्वजनिक हुँदा गत हप्ता उनले पत्रकारहरूलाई आफूसँग देशवासी परिचित रहेका तथा उनीहरूका कमजोरीप्रति ममता र हाँस्नसक्ने आफ्नो स्वभाव भएको बताएका थिए । 

विद्यार्थी राजनीतिदेखि नै उनी जनतामाझ प्रिय थिए । सन् १९९० मा विश्वविद्यालयको प्रस्तावित सुधारका कार्यक्रमप्रति असहमति जनाउँदै त्यसको विरोध गर्दा उनी पक्राउ परेका थिए । राजनीतिक टिप्पणीकर्ता जोसे पगानी १४ वर्ष सत्ता र प्रतिपक्षमा बसेका हिप्किन्सलाई ‘व्यावहारिक, आकर्षक, कठोर एवम् सक्षम’ मान्छन् । 

लेबर पार्टीको घट्दो लोकप्रियताका बीच बढ्दो मन्दी तथा पुनः आक्रामक बन्नसक्ने कन्जरभेटिभ विपक्षीलाई व्यवस्थापन गर्नुपर्ने गहन दायित्वमा उनी पुगेका छन् । प्रधानमन्त्री हिप्किन्सले करिब दुई वर्ष कोभिड नियन्त्रणका निम्ति मन्त्रीका रूपमा निर्वाह गरेको भूमिकाको सर्वत्र प्रशंसा भएको थियो । 

श्रमिकक परिवारको पृष्ठभूमिका नयाँ प्रधानमन्त्रीले सुरक्षा र शिक्षाको जिम्मेवारी सम्हालेर आफ्नो राजनीतिक यात्रालाई निरन्तर अघि बढाए र सफलता पनि हासिल गरे ।

तुलनात्मकरूपमा आफू निष्कपट, सबैलाई समान अवसर दिनुपर्ने समावेशी चरित्रको व्यक्ति भएको बताउने उनी आफ्ना मातापिताले आफ्नो र आफ्ना दाजुको पालनपोषण एवम् शिक्षाका निम्ति कठोर परिश्रम गरेको उल्लेख गर्छन् । उनको खानपानले आफ्ना साथीभाइ र समकक्षीको ध्यान आकर्षित गरेको प्रसङ्ग पनि रोचक छ । एकपटक हिप्किन्सका हाकिमले ‘हिप्किन्सलाई ससेज र डायट कोक भएपुग्छ’ भनेका थिए । 

प्रधामन्त्रीका सम्भावित उम्मेदवार ठानिएकी न्यायमन्त्री किरी अलान हिप्किन्सलाई अविश्वसनीयरूपमा सबल नेता मान्छिन्  । देशलाई हाँक्नसक्ने क्षमता भएको नेताका रूपमा उनले हिप्किन्सलाई चित्रण गरिन् । विगतमा उनले गरेका कामको समीक्षा गर्दै न्यायमन्त्रीले त्यसो भनेकी हुन् । 

साइकल चलाउन र फूलबारीमा काम गर्न रुचाउने हिप्किन्सले संसद् जाँदा आफूले लगाउने लुगाले वस्त्रप्रतिको आफ्नो चेतना कमजोर भएको पत्रकारमाझ स्वीकार गरेका थिए ।

प्रधानमन्त्री आर्डनले पदत्यागको घोषणा गरेपछि पत्रकारमाझ प्रस्तुत हुँदा उनले रङ खुइलिएको टोपी, कालो चस्मा र शरीरमा टम्म नमिलेको सर्ट लगाएका थिए । 

राजधानी वेलिङ्टनस्थित भिक्टोरिया विश्वविद्यालयमा अपराधशास्त्र र राजनीति अध्ययन गरेका नवनियुक्त प्रधानमन्त्रीले औद्योगिक प्रशिक्षण क्षेत्रमा केही समय काम गरे 

सन् २००८ मा संसद् सदस्य हुनुअघि उनी शिक्षामन्त्रीका वरिष्ठ सल्लाहकार तथा भूतपूर्व प्रधानमन्त्री हेलेन क्लार्कका वरिष्ठ सल्लाहकार थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू