शनिबार, वैशाख २२, २०८१
15:48 | २०:३३

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले गरिन् पदत्यागको घोषणा   

रासस- एएफपी जनवरी १९, २०२३

तस्विर एएफपी

वेलिङ्टन, ५ माघ- न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी हुन् ।

आगामी केही साताभित्र न्यूजिल्याण्डमा आम निर्वाचन घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उनले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारेकी छन् । 

४२ वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताइन् । “म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मरो समय हो,” पार्टी बैठकमा विश्रामको घोषणा गर्दै उनले भनिन् । 

फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने पनि उनले बताइन् । पार्टी सदस्यले देशलाई नेतृत्व गरेकामा उनीप्रति आभार व्यक्त गरेका थिए । 

कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतंकवादी आक्रमण र ह्वाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा उनले देशको नेतृत्व गरिन्। 

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उनी विश्वकै कान्छी महिला सरकार प्रमुख भएकी थिइन् । उनले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताएकी छन् । 

पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उनी उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री भएकी थिइन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू