बुधबार, वैशाख १२, २०८१
20:45 | ०१:३०

स्रष्टाहरुको सम्झनामा लन्डनमा अनेसास बेलायतको स्रष्टा स्मृति दिवस

नेपाली लिङ्क जनवरी ९, २०२३

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले अंग्रेजी नयाँ वर्षको शुभकामना आदान प्रदानसंगै नेपाली वाङमयका ६ जना धरोहर स्रष्टालाई सम्झिएको छ ।  

आइतबार लन्डन प्लमस्टिडस्थित जिगेसा हलमा सम्पन्न स्रष्टा स्‍मृति दिवस कार्यक्रममार्फत् ती स्रष्टाहरुप्रति श्रद्धा अर्पण गरिएको हो। त्यस अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल, नेपाली आधुनिक चित्रकलाका पिता तथा मुर्धन्य साहित्यकार लैनसिंह वाङदेल, नेपाली संगीतका आदि व्यक्तित्व मास्टर मित्रसेन, आधुनिक नेपाली संगीतका पिता अम्बर गुरुङ, नेपाली स्वच्छन्द कविताका अति लोकप्रिय कवि भूपी शेरचन र स्वर सम्राट नारायण गोपालको स्मरण गरियो ।  

अनेसास बेलायतले विगत एक दशकदेखि वर्षेनी आएको आएको स्रष्टा स्‍मृति दिवस यसपटक उपाध्यक्ष माया गुरुङले संयोजन गरेकी थिइन्। अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा तथा बेलायतस्थित नेपाली राजदूतावासका द्वीतीय सचिव रामबाबु नेपाल प्रमुख अतिथि रहेको कार्यक्रमलाई संस्थाकी महासचिव मन्जु भण्डारीले सञ्चालन गरेकी थिइन्।

कार्यक्रममा नेपालबाट भ्रमणका लागि आएका वरिष्ठ साहित्यकार हरिहर खनाललाई स्वागत तथा सम्मान गरिएको थियो । 

प्रतिकुल मौसमको बावजुद विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै अतिथि र साहित्यकारहरू कार्यक्रममा उपस्थित थिए। 

प्रथम चरणको कार्यक्रममा सन् २०२२ मा उदाहरणीय उपलब्धिहरू हासिल गर्ने संस्थाका आजीवन सदस्य तथा पदाधिकारीहरूलाई  पुष्पगुच्छा तथा खादासहित सम्मान गरिएको थियो। सम्मानित हुनेमा ६९ वर्षको उमेरमा युनिभर्सीटी अफ लन्डनबाट बुद्धिस्ट स्टडिजमा मास्टर्स डिग्री गर्ने संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सुमलकुमार गुरुङ, ग्रीनवीच युनिभर्सीटीबाट चाइल्ड एजुकेशनमा मास्टर्स डिग्री गर्ने मञ्जु भण्डारी र एफआरसीपी, ह्यामोटोलोजीमा कन्सल्ट्यान्सीका साथै जिलिङहाम अस्पतालमा विभागीय प्रमुख पदमा पदोन्नती हुने डा सुदर्शन गुरुङ थिए। 

कार्यक्रममा डा. रुपक श्रेष्ठ, विजय हितान, सुमलकुमार गुरुङ, बासु शर्मा र हरिहर खनालले शुभकामना मन्तव्य दिएका थिए। 

प्रमुख अतिथि दूतावासका द्वीतीय सचिव रामबाबु नेपालले आफ्नो शुभकामना मन्तव्यको साथै कविता वाचन गरेर सुनाएका थिए । 

कार्यक्रमको दोश्रो चरणमा गरिएको कविता वाचनलाई प्रतिमा केसीले सञ्चालन गरेकी थिइन् । त्यस अवसरमा गोकुल भण्डारी, हिल्या  कुँवर, कुमार केसी, प्रतिमा केसी, रुपक श्रेष्ठ, विजय हितान, राज श्रेष्ठ, मन्जु भण्डारी, टेक बहादुर थापा, सुमलकुमार गुरुङ, हरिहर खनाल, माया गूरुङ र बासु शर्माले कविता वाचन गरे । 

सो अवसरमा मिन रानाले सारंगीको धुन बजाएर प्रस्तुत गरेको मास्टर मित्रसेनको गीतले  कार्यक्रम झन् रोचक बनाएको थियो भने डा सुदर्शन गुरुङले स्वर सम्राट नारायण गोपालको एउटा कालजयी गीत प्रस्तुत गरेका थिए। 

कार्यक्रमको अन्त्यमा अध्यक्ष राज श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू