शनिबार, जेठ ५, २०८१
09:41 | १४:२६

रूसी आक्रमणमा ६०० युक्रेनी सैनिक मारिए

रासस/एएफपी जनवरी ८, २०२३

मस्को, २४ पुस–मस्कोले माकिभकामा मारिएका ८९ रुसी सैनिकको मृत्युको बदला लिन आफ्नो सेनाले ‘जवाफी हमला’ गरेको जनाएको छ । उक्त आक्रमणमा ६०० भन्दा बढी युक्रेनी सुरक्षा अधिकारी मारिएको बताइएको छ ।

रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्रामातोर्कसका दुई भवनमा तैनाथ युक्रेनी सैनिकमाथि भएको आक्रमणमा ६०० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ ।”

पछिल्लो रूसी आक्रमणबारे समाचार तयार पार्दासम्म स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन ।

शनिबार डोनेट्स्कको पूर्वी क्षेत्रमा रहेको क्रामातोर्कसमा मध्यरातअघि कम्तीमा चारवटा विस्फोटको आवाज सुनेको एएफपीका एक पत्रकारले बताएका छन् ।

दुवै देशमा शनिबार अर्थोडक्स क्रिसमस मनाइएको थियो । उक्त अवसरमा रूसले युक्रेनमाथिको आक्रमणलाई अस्थायीरूपमा ३६ घण्टाका लागि रोकेको घोषणा गरेको थियो ।

रूसी रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर यहाँको गुप्तचर निकायले ‘विगत २४ घण्टामा’ क्रामातोस्र्कमा युक्रेनको सशस्त्र बलको अस्थायी तैनाथीको पुष्टि गरेको जनाएको छ ।

दुई भवनमा युक्रेनका एक हजार ३०० भन्दा बढी सैनिक राखिएको मस्कोले दाबी गरेको छ ।

यसअघि आइतबार डोनेट्स्क क्षेत्रीय प्रशासनका प्रमुख पाभ्लो किरिलेन्कोले रूसले क्रामातोर्कसमा सातवटा रकेट आक्रमण गरेको बताउनुभएको थियो ।

रूसले आक्रमणबाट ६०० युक्रेनी सैनिकको मृत्यु भएको र ठूलो सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएको बताएको छ । भवनबाहेक ‘एउटा शैक्षिक संस्था, औद्योगिक केन्द्र र केन्द्र’ मा क्षति पुगेको तर कुनै हताहत भने नभएको रूसले दावी गरेको छ ।

नयाँ बर्ष शुरू भएपछि युक्रेनले पूर्वी शहर माकिभकामा ब्यारेकको रूपमा रूसी सेनाले प्रयोग गरिरहेको भवनमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा ८९ रूसी सेनाको मृत्यु भएको बताइएको थियो ।

रूसले युक्रेनी आक्रमणमा परी ८९ सैनिकको मृत्यु भएको स्वीकार गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र युक्रेनमा जनवरी ७ तारिखका दिन मनाइने क्रिसमस मनाउनका लागि ३६ घण्टे युद्धविरामको घोषणा गरेका थिए ।

युक्रेनी स्थानीय समयअनुसार शनिबार राति ११ बजेपछि एकतर्फी युद्धविराम अन्त्य भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू