बुधबार, वैशाख १२, २०८१
20:09 | ००:५४

शीघ्र हतियार आपूर्ति गर्न युक्रेनको आग्रह 

रासस-एएनआई नोभेम्बर ३०, २०२२

किभ । युक्रेनले देशमा शिशिर याम प्रारम्भ भएको बताउँदै उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नेटो) र उसका सहयोगी राष्ट्रलाई यथाशक्य चाँडो हतियार आपूर्ति गर्न आग्रह गरेको छ ।

रुसी आक्रमणबाट आहत युक्रेनले समग्र सहायताको प्रक्रियालाई द्रुत गतिमा टुङग्याउन अनुरोध पनि गरेको छ । 

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले बुखारेस्टमा नाटोका विदेश मन्त्रीको जारी बैठकमा शीघ्र सहायता परिचालनका लागि आह्वान गर्दै क्षेप्यास्त्र आक्रमणबाट अवरुद्ध भएको देशको विद्युत् आपूर्ति प्रणाली तत्काल पुनःस्थापना गर्न अत्यावश्यक भएको बताए । 

त्यस निम्ति पनि उनले नाटोको मद्दतका निम्ति अनुरोध गरेका अल जजीराले जनाएको छ । विदेशमन्त्री कुलेबाले आफ्नो देशको हवाई सुरक्षा प्रणालीलगायत पूर्वाधारको रक्षा गर्न बाह्य सहायता अपरिहार्य भएको बताएका थिए । 

दशौँ महिनामा प्रवेश गरेको रुस–युक्रेन द्वन्द्वले युरोपलाई स्तब्ध पारेको छ । 

युरोपेली सङघ र उसका सदस्य राष्ट्रले युद्धको विभिषिकाबाट बच्न देश छाडेर भागेका युक्रेनीप्रति ऐक्यबद्धता जनाएका छन् भने पोल्याण्ड सरकारले युक्रेनी शरणार्थीलाई अस्थायीरुपमा खाना र आवासको व्यवस्था गरेको छ । 

यद्यपि पोल्याण्डले चार महिनादेखि भोजन र आवास पाइरहेका युक्रेनीलाई लामो समयसम्म आतिथ्यता प्रदान गर्न नसकिने बताउँदै आएको छ । 

क्रेमलिनको सेनाले गरेको दश महिनाको निरन्तरको दमनले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन् । 

विश्व ब्याङ्कले युक्रेनमा हालसम्म तीन खर्ब ५० अर्ब डलर क्षति भएको अनुमान गरेको छ । 

युक्रेन युद्ध तत्काल अन्त्य हुनुपर्ने तथा त्यस निम्ति वार्ता र कूटनीतिको बाटोमा सम्बद्ध पक्ष अग्रसर हुनुपर्नेमा नेटो सहितका पश्चिमा राष्ट्रले जोड दिँदै आएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू