शनिबार, वैशाख ८, २०८१
10:42 | १५:२७

जापानमा नेपाल बिजनेस सेमिनार, नेपालमा लगानी गर्न आह्वान

नेपाली लिङ्क नोभेम्बर २०, २०२२


टोक्यो – जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्स टोक्योको आयोजनामा शुक्रबार नेपालमा लगानी गर्न चाहने ४० भन्दा बढी जापानी कम्पनीको सहभागितामा नेपाल बिजनेस सेमिनार आयोजना गरिएको छ ।

विगत १२ वर्षदेखि निरन्तर जापानको विभिन्न शहरमा केन्द्रित रहेर नेपालमा विदेशी लगानी भित्रयाउन यो संस्थाले जापानी लगानीकर्ताहरुलाई संयोजन गरिरहेको छ । उसले हालसम्म जापानमा ७ वटा औपचारिक बिजिनेस सेमिनार र ५० भन्दा बढी अनौपचारिक बिजनेस सेमिनार सम्पन्न गरेको छ भने नेपाल तथा जापानबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्ष गाँठको अबसरमा सन् २०१६ मा काठमाडौँको भृकुटी मण्डपमा जापान केन्द्रित गरेर व्यापार मेला आयोजना गरेको थियो ।

संस्थाले नेपालमा जापानको लगानी गर्ने र गराउने बिषयमा केन्द्रित रहेर नेपालमा बैदेशिक लगानी भित्राउन सहजकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।

उक्त कार्यकममा जापानका पूर्व मन्त्री तथा वर्तमान सांसद हिरोगुची हिरोसिले नेपाल र जापानको यस्तो सेमिनारले दुई देशबीच आर्थिक विकासको परिणाम ल्याउन सक्नेमा बिश्वास रहेको र दुवै देशबीच अझ बढी सम्बन्ध गाढा हुने विश्वास व्यक्त गरे ।

उक्त क्रममा जापान बाह्यव्यापार संगठन जेत्रोको उपाध्यक्ष खाजुया नकाजोले नेपालसंग जापानको ब्यापार बढाउने र लगानी गर्ने अवसर हुनु भनेको दुवै देशको लागि फाइदा हुने बताए।

त्यस्तै जापान नेपाल सोसोइटीका अध्यक्ष एवं नेपालका लागि जापानका पूर्व राजदूत कोजिमा मिचुआकीले नेपालमा विदेशी लगानी राम्रो कुरा हो भन्दै नेपाल जापान दुवै सरकारले लचिलो भएर एक आपसको लगानीलाई बढावा दिनुपर्ने बताए ।

नेपालमा लगानी गर्न आह्वान

यसै क्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा हाइड्रोपावर, मिनरल वाटर, पर्यटन, खनिज, जडिबुटी, बैंकिङ, उद्योग लगायतमा लगानी गर्न आह्वान गरे।

कार्यक्रममा विश्व बैंक तथा संयुक्त राष्ट्र खाद्य कृषि संगठनमा काम गरिसकेका अर्थशास्त्री डा. यानागीसिमा कोजी, इमाराकी विश्वविद्यालयका प्राध्यापक डा. नाकागावा मिचुहिरो र कानूनविद् डा. बलराम श्रेष्ठले अनुसन्धान गरि तयार पारेको नेपाल र जापानबीच आर्थिक लगानीको सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो भने टोक्यो कृषि विश्वविद्यालयका अनुसन्धानकर्ता डा. योगेन्द्र घर्ती मगरले नेपालमा आधुनिक कृषि व्यवसायमा जापानले लगानी गर्न सक्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटनमन्त्री साइतो तेचुओले नेपाल बिजनेस सेमिनारको सफलता र दुई देशबीच आउंदा दिनमा अझ बढी प्रगाढ सम्बन्ध कायम रहने अपेक्षासहित कार्यक्रमको सफलताको कामना गरेका थिए ।

उक्त कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले नेपालमा हाइड्रोपावर, पर्यटन, शिक्षा,स्वास्थ्य, बैंकिङ, सूचना प्रविधि, जैविक प्रविधि, मिनरल वाटर लगायत विविध क्षेत्रमा लगानीको सम्भावना रहेको बताए ।

उनले नेपालमा लगानी गर्ने जापानी कम्पनीहरुलाई नेपाल सरकार तथा राजदूतावासले जुनसुकै तरिकाले सहयोग गर्ने र दुई देशबीच आर्थिक विकासमा टेवा पुरयाउन तत्पर रहेको समेत बताए।

उक्त कार्यक्रमको अध्यक्षता गर्दै डा. बलराम श्रेष्ठले विश्वशान्ति कायम गर्ने आर्थिक सवलतालाई स्थान दिनुपर्ने बताए । उनले जापानी कम्पनीहरुलाई नेपालमा लगानी गरि दुई देशबीचको आर्थिक सम्बन्ध अरु विस्तार गर्न आग्रह पनि गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू