बिहीबार, कार्तिक ८, २०८१
17:55 | २२:४०

रुसी क्षेप्यास्त्र पोल्याण्डमा खसेसँगै नेटोको आपतकालीन बैठक   

रासस-एपी नोभेम्बर १६, २०२२

वार्सा, ३० कात्तिक–पोल्याण्डले रुसमा निर्मित क्षेप्यास्त्र देशको पूर्वी भागमा खसेको तथा त्यसबाट आफ्ना दुई जना नागरिक मारिएका बताएको छ । क्षेप्यास्त्र खसेसँगै रुस–पोल्याण्डबीच आरोपप्रत्यारोप पनि शुरु भएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य पोल्याण्डमाथि नियतवश आफ्नो भूमिमा आक्रमण भएको वार्साले आरोप लगाएको छ भने मस्कोले त्यसको खण्डन गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमर जेलेन्स्कीले घटनाको निन्दा गरेका छन् ।

इण्डोनेसियाको बालीमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर नेटोको आपतकालीन बैठक भएको छ ।

बैठकमा राष्ट्रपति बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेयर उपस्थित थिए ।

उन्नत अर्थतन्त्र भएका प्रमुख विकसित देश अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, जापान, बेलायत र इटाली सम्मिलित अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन जी ७ को बैठक पनि भएको छ ।

इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा पनि उक्त घटनाबारे विश्व नेताले चिन्ता व्यक्त गरेका छन् ।

प्रारम्भिक विवरणअनुसार रुसको नियोजित आक्रमण हो वा होइन भन्नेबारेमा पोल्याण्डले अनुसन्धान थालेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्षेप्यास्त्र रुसबाट प्रहार नभएको हुनसक्ने बताएका छन् ।

अन्नपात सुकाइरहेका गाउँलेमाथि क्षेप्यास्त्र खसेको पोल्याण्डका सुरक्षा अधिकारीहरूले बताएका छन् । जी सेभेनले क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ । एक वक्तव्य निकालेर समूहले आक्रमणलाई बर्बर भनेको छ ।

पोल्याण्डको अनुसन्धानप्रति आफ्नो पूर्ण समर्थन रहेको तथा सहयोग गर्न तत्पर रहेको जी सेभेनले बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि पोल्याण्डमा क्षेप्यास्त्र खसेको घटनाबाट आफू चिन्तित रहेको बताउँदै त्यसको विस्तृत अनुसन्धानका लागि आह्वान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू