सोमबार, वैशाख १७, २०८१
11:47 | १६:३२

गैरआवासीय नेपालीको लगानीमा सरकारले सुरक्षा दिने

रासस अक्टोबर ११, २०२२

प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार काठमाडौँमा गैरआवसीय नेपाली संघ स्थापना दिवसमा आयोजित कार्यक्रमको उदघाटन गर्दै । तस्बिर- रोशन सापकोटा, रासस

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दिवसका अवसरमा संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराए ।

मन्त्री खाणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे ।

सो अवसरमा उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पूँजी नेपालमा भित्रयाउन आह्वान गर्दै त्यसको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले संघलाई सरकारले महत्वका साथ आत्मसात् गरेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा संघसँगको सहकार्य र संघको योगदानलाई परिचालन गर्ने उद्देश्य राखेको जानकारी गराए ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपालीले आफ्नो ज्ञान, सीप र पूँजी नेपालमा भित्रयाएर निजी क्षेत्रसँग गरेको सहकार्य प्रशंसनीय रहेको बताए ।

संघकी कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीका मर्म बुझेर संघको स्थापना भएको बताउँदै यसले अप्ठ्यारो परेका बेला नेपाल र नेपालीलाई महत्वपूर्ण सहयोग र योगदान गर्दै आएको उल्लेख गरिन् ।

संघका अध्यक्ष कूल आचार्यले वर्तमान सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन गरेको कार्यको प्रशंसा गर्दै थप लगानीमैत्री कानून निर्माणका लागि आग्रह गरे ।

अर्का अध्यक्ष डा बद्री केसीले आगामी निर्वाचनदेखि गैरआवासीय नेपालीलाई आम निर्वाचनमा मतदान गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरे ।

संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुलुक समृद्ध नभई व्यक्तिगत सफलताले मात्र साध्य नहुने उल्लेख गर्दै यस उद्देश्यलाई परिपूर्ति गर्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय जिवा लामिछाने र भवन भट्ट, संस्थापक महासचिव भीम उदासलगायतले संघले गरेका सामाजिक कामकारवाहीका बारेमा जानकारी गराउँदै सरकारले संघलाई थप महत्वका साथ लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

विश्वभर छरिएर रहेका नेपालीको हकहित र अधिकारको संरक्षण र संवर्धनका लागि संघ स्थापना भएको थियो ।

संघले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेशा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै विदेशमा बसेका नेपालीको पूँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणमा उपयोग र परिचालन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू