मंगलबार, वैशाख ११, २०८१
19:11 | २३:५६

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

रासस/एएफपी अक्टोबर ४, २०२२

तस्बिर-एएफपी

स्टकहोम, १८ असोज–भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ ।

फ्रान्सका अलाँ आस्पेय, संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस बर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो ।

क्वान्टम मेकानिक्सको खोजका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट उनीहरू सम्मानित हुने भएका हुन् ।

उनीहरूलाई ‘अल्झिएको फोटोनहरूको प्रयोग, बेल असमानताहरूको उल्लंघन स्थापित गर्न र क्वान्टम सूचना विज्ञानको अग्रगामी स्थापना गर्नका लागि’ खोज तथा योगदान गरेबापत् सम्मानित गरिएको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार समितिले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

क्वान्टम कम्प्युटर, नेटवर्क र सुरक्षित इन्क्रिप्टेड सञ्चारका लागि मार्ग प्रशस्त गर्ने क्वान्टम मेकानिक्सको क्षेत्रमा भएका खोजका लागि उनीहरू पुरस्कृत भएका हुन् ।

खोजले दुई उप–पारमाणविक कणहरू छुट्टिए पनि एउटै इकाईको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ ।

प्रत्येक वैज्ञानिकले ‘जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर आधारभूत प्रयोगहरू गरे, जहाँ दुई कणहरू अलग हुँदा पनि एउटै एकाइ जस्तै व्यवहार गर्छन्,’ समितिले भनेको छ ।

खोज परिणामहरूले क्वान्टम जानकारीमा आधारित नयाँ प्रबिधिको लागि मार्ग प्रशस्त गरेको छ ।

भौतिकशास्त्रको नोबेल कमिटीका अध्यक्ष एन्डर्स इरब्याकले भन्नुभयो, ‘नयाँ प्रकारको क्वान्टम प्रबिधिको उदय भइरहेको खोज र यसको परिणामबाट स्पष्ट भएको छ ।’

“क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुत रूपमा विकास भइरहेको क्षेत्र हो,” भौतिक विज्ञानको नोबेल समितिका सदस्य इभा उल्सनको भनाइ छ । उहाँले थप्नुभयो, “यसका सुरक्षित सूचना स्थानान्तरण, क्वान्टम कम्प्युटिङ र सेन्सिङ टेक्नोलोजी जस्ता क्षेत्रहरूमा व्यापक र सम्भावित प्रभावहरू छन् ।”

फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस–सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध वैज्ञानिक हुन् ।

अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसर क्यालिफोर्नियामा आफ्नै कम्पनी स्थापना गरी वैज्ञानिक खोज गर्दै आएका छन् ।

त्यसैगरी ७७ वर्षका एन्टोन जेइलिङ्गर भियना विश्वविद्यालयमा संलग्न वैज्ञानिक हुन् । यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए ।

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयबुलाई प्रदान गर्ने घोषणा सोमबार गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू