मंगलबार, वैशाख ११, २०८१
16:10 | २०:५५

युक्रेनलाई सहयोग गर्न जेलिन्स्किी र फ्रान्सका विदेशमन्त्रीबीच भेटवार्ता

रासस-सिन्ह्वा सेप्टेम्बर २८, २०२२

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी

किभ, १२ असोज–युक्रेनमा आवश्यक सहयोगबारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । हाल युक्रेन भ्रमणमा रहेकी फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

युक्रेनमा केही महिना अघि रुसले गरेको आक्रमणपछि यहाँको आर्थिक लगायतको अवस्था कमजोर हुदै गएको छ । हाल पश्चिमा देशहरुले युक्रेनको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग गरिरहेका छन् । बेलायत र अमेरिकाले युक्रेनलाई आवश्यक पर्ने हात हतियार समेत उपलब्ध गराइरहेका छन् ।

युक्रेन युरोपियन युनियनको सदस्य बन्ने तयारीमा रहेकाले यसका लागि आवश्यक सहयोग गर्न पनि राष्ट्रपतिले फ्रान्सेली विदेशमन्त्रीसँग आग्रह गरे ।

सो भेटका क्रममा फ्रान्ससँग युक्रेनी राष्ट्रपतिले प्रतिरक्षाका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि आग्रह गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिमा राष्ट्रपति जेलिन्स्किीले युक्रेनको पछिल्लो अवस्थाबारे फ्रान्सलाई जानकारी गराएको र उनीहरुबीच युक्रेनका लागि हाल गर्न सकिने सहयोगबारे कुराकानी भएको जनाइएको छ ।

युक्रेनमा रुसको आक्रमण विरुद्ध फ्रान्सले पनि युक्रेनलाई विगतदेखि नै सहयोग गर्दै आएको छ । गएको फेब्रुअरी महिनामा रुसले युक्रेनमाथि हमला गरेको थियो । सो हमलाबाट युक्रेनमा मानवीय र आर्थिक क्षति पुगेको छ । रुसले युक्रेनमाथि गरेको सो हमलापछि फ्रान्सेली विदेशमन्त्री कोलोनाले गरेको युक्रेनको यो दोस्रो भ्रमण हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू