शुक्रबार, चैत १६, २०८०
01:11 | ०६:५६

एनआरएनएको ६ महिनाः ६ प्रश्न १०६ जनालाई

कृष्ण भट्ट सेप्टेम्बर २०, २०२२

सन् २००३ मा प्रवासमा बसेका नेपालीलाई जन्मभूमि नेपालसंग जोड्ने र एउटै छातामुनी एकतावद्ध गरी बाँध्ने पवित्र उद्देश्यले स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) सन् २०२१ मा विभाजनदेखि विघटनको मोडमा आइपुग्यो ।

विवादको चुरो

सन् २०१९ को एनआरएन चुनाव सकिए संगै 
संस्थाभित्र नै बसेर आलोचना र भत्र्सना गरेर संस्था गिराउने खेल सुरु भयो । एकले अर्कालाई नगन्ने, मै ठूलो भन्ने, आफैं अध्यक्ष भए एकता हुने अर्कोलाई अध्यक्ष मान्नै नसक्ने पदका भोगीहरु ब्यक्तिगत स्वार्थ पूरा गर्ने र संस्था कब्जा गरेर आफ्नो स्वार्थमा प्रयोग गर्ने समूहको खिचातानीले गैर आवासीय नेपालीको गरिमा र इज्जत धमिलाउने काम भयो ।

पटक-पटकको प्रयास पछि पनि निर्वाचन गर्न असमर्थ संस्थाको नेतृत्व र अर्को पक्षको खिचातानीले सरकार र राजनीतिको प्रत्यक्ष हस्तक्षेप पछि सहमतिको नाममा गत मार्च महिनामा ३ जना अध्यक्ष र फेसबुकमार्फत घोषणा गर्ने जति सबैलाई पदाधिकारी दिएर एक पक्ष गठन भयो भने अर्को पक्षले प्रमुख संरक्षकको म्यान्डेट अनुसार अधिवेशन गरयो ।

खाली पदकै लागि विद्रोह गर्ने प्रमुखलाई नै नेतृत्व दिएको अहिले ६ महिना बितेको छ ।

नागरिकता विधेयक पारित गरेकोमा खुशी छौं, फलानो कार्यक्रममा उपस्थित भएं । राष्ट्रिय सभाका अध्यक्षलाई कार्यालयमा स्वागत गरें, फलानो विषय लाई लिएर एनआरएनए गम्भीर छ, हेडिङ्ग टु बैंकक, शंखमुल पार्कका लागि घास काट्ने मेसिन हस्तान्तरण गरेका छौं भन्ने कामहरु त सार्वजनिक छ र सचेत मस्तिष्कहरुले बुझ्छ नै ।

तर उहांहरुलाई मैले नबुझेका केही प्रश्न सोध्न मन लाग्योः

१–दुई वर्ष ६ महिनासम्म आइएलओ घोटाला, एमआइएस प्रणालीमा समस्या, डेटा उल्लंघन, विधानमा अनियमितता, पद्दति र परदर्शीतादेखि अरु थुप्रै नीति–नियम सम्बन्धि नाराबाजी गर्नेहरुले पोस्टमा हुँदा संस्थाभित्रको विकृति हटाउन र संस्थाको आर्थिक पारदर्शीता बढाउन के के गर्नुभयो ? तत्कालिन र दूरगामी योजना के हो?

२–‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा मात्रै हो कि? यो बोल्नका लागि मात्र हो कि त्यसको कुनै ठोस अर्थ र परिणाम पनि आयो ? जन्मसिद्ध नेपाली नागरिकता त्यागेर तेश्रो दर्जाको ‘गैर आवासीय नेपाली नागरिकता’ को पटक पटक स्वागत गर्ने, पार्टी र नेता को कार्यकर्ता को हो ? यस्तो विभेद गर्ने नागरिकता विधेयकबारे चाहिँ तपाईंहरुको धारणा के रह्यो? वास्तवमा भन्ने हो भने तपाईंहरुले त्यसको घनघोर विरोध गर्नु पर्दथ्यो होइन र ?

३–तपाईंहरुले गत मार्चमा खादा-माला लगाएदेखि अहिलेसम्म ‘ग्रास रूट’ सम्म पुग्न र दोस्रो पुस्तालाई कनेक्ट गर्ने काम कति भयो? विदेशमा बस्ने ३० वर्ष मुनीका ३० जना सफल उद्यमी नेपाली करोडपतिहरूलाई चिन्नु हुन्छ? केही तथ्यांक छ कि?

इराकमा समस्यामा परेका नेपाली दिदीबहिनीहरु लाई उद्धार गर्ने केही ठोस कामहरु भए? मध्य पूर्वबाट बाकसमा लास आउन कम भयो ? देशका युवा जनशक्ति विदेश नपठाई देशमै रोजगारको सिर्जना गर्ने केहि वातावरण बन्यो? नेपालको आर्थिक र सामाजिक विकासमा कसरी र कहाँ सहयोग भयो?

४ एनआरएनएलाई विशुद्ध गैर राजनीतिक र सामाजिक संस्था बनाउनका लागि केही काम गर्नुभयो कि? कति चोटी राजनीतिक ‘दलीय’ हस्तछेप हुनु हुँदैन भन्नुभयो? अनि नि, तपाईंको स्वार्थ पुरा गर्न र चाकडी गर्न पार्टीको आंगनमा कति पटक पुग्नु भयो? फोटा कति खिचिए?

५ –विनोद कुंवरले नेतृत्व गर्नु भएको अर्को बैधानिक गैर आवासीय नेपाली संघसंग कति चोटी मेलमिलाप सम्बन्धि वार्तालापहरु भए ? अनि निर्णय र नतिजाहरु के के हुन् ? कि ‘मिलाप’ भन्ने शब्द झुक्किएर बैंककको ब्यानरमा परेछ? बैंककको १३ बुंदे घोषणामध्ये एउटा कार्यान्वयन भयो? कि हुँदै छ?

६– गएको निर्वाचनमा श्रृंखलावद्धरूपमा एउटा समूहले संस्थाविरूद्ध मुद्दा हालेर ६ महिनासम्म अधिवेशन र निर्वाचन हुन सकेन। त्यसको मुख्य नाइके चाहिँ को रे? अनि त्यसको परिणाम के भयो? कृपया बताइदिनोस् न।

हिम्मत छ भने यी प्रश्नहरुको जवाफ सबै एनआरएनए पदाधिकारी https://nrna.org/tenure/2021-2023/ हरुले दिंदा हुन्छ, नसके उहांहरुका भक्तजनहरुले दिनुभए पनि हुन्छ। नभए संस्था जोगाउने नाममा गरिएको सहमतिका रचनाकारहरुले दिनु भए नि हुन्छ ।

-कृष्ण भट्ट, लन्डन
‘जन्मसिद्ध नागरिकता खोसिन लागेको एउटा अमूर्त नेपाली’

गैरआवासीय नेपाली संघ यूके, संस्थापक कार्यकारी सदस्य

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू