शुक्रबार, वैशाख २१, २०८१
04:58 | ०९:४३

श्रीलंकामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य   

रासस-सिन्ह्वा जुन १५, २०२२

कोलम्बो–श्रीलंकामा आगामी महिना करिब आठ लाख पर्यटक भित्रयाउने लक्ष्य लिइएको छ । यस वर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्रयाउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन् ।

श्रीलंका पर्यटन विकास प्राधिकरणले आर्थिक संकट न्यूनीकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिइएको जनाएको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग मंगलबार भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले ती पर्यटकहरुबाट ८० करोड डलर स्वदेश आउने अनुमान गरिएको जानकारी दिएका छन् ।

बैठकमा जाफ्ना विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन् । प्रधानमन्त्री विक्रमासिङ्घेले पर्यटन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न र नयाँ नयाँ भ्रमण प्याकेजहरु बनाउन सुझाव दिएका थिए ।

त्यसैगरी पर्यटकलाई दिइने सेवा सुविधा गुणस्तरीय, विविधता र सन्तुष्टिपूर्ण बनाउन पनि उनले आग्रह गरेका थिए ।

पर्यटन उद्योगलाई महत्वपूर्ण उद्योग बनाउदै आएको श्रीलंकाले कोरोना भाइरस महामारीका कारण थिलो थिलो भएको पर्यटन उद्योगलाई फेरि सक्रिय बनाउने कसरत थालेको छ ।

श्रीलंकामा अहिले आर्थिक संकट उत्पन्न हुनुमा महामारीका बेला पर्यटन उद्योगमा ठूलो घाटा लाग्नुलाई पनि मुख्य कारण मानिन्छ । आर्थिक संकटका कारण श्रीलंकामा राजनीतिक उथलपुथल भएको छ भने अहिले पनि मूल्य बृद्धि र अभाव सृजना भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू