शुक्रबार, वैशाख २१, २०८१
11:03 | १५:४८

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

रासस जुन ११, २०२२

तस्बिर- भरत प्रधान/रासस

लिस्बन – करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाको शव समुद्रमा भेटिएको छ ।

नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो ।

सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबारमात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताए ।

सिलवालको शव राजधानी लिस्बन नजिकै पर्ने पासो डि आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको अधिकारीले बताए । उनको शव कासकाइसस्थित अस्पतालको शवगृहमा राखिएको छ ।

सो घटनाका विषयमा उनको परिवारलाई जानकारी गराइएको र परिवारले शव नेपाल पठाइदिन आग्रह गरेको अधिकारीले बताए । बेपत्ता भएका सिलवालको खोजीकार्यका लागि संघले यहाँको प्रहरी प्रशासनलाई खबर गर्नुका साथै ठाउँठाउँमा उनको फोटोसहितको पोस्टरसमेत टाँसेको थियो ।

सिलवाल वैदेशिक रोजगारीको सिलसिलामा सात वर्षअघि पोर्चुगल आएका थिए । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू