शुक्रबार, वैशाख २१, २०८१
13:51 | १८:३६

बोलिभियाकी पूर्व राष्ट्रपतिलाई १० वर्ष जेल सजाय

रासस-एएफपी जुन ११, २०२२

लापाज, २८ जेठ – बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ ।

उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो ।

अहिले ५४ वर्षकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो ।

उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको दावी छ ।

पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ । उनलाई लापाजस्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् ।

उनले संविधानले दिएको आफ्नो जिम्मेवारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले सजायको फैसला गरिएको अदालतको भनाई छ ।

उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए । उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोप लगाइएको छ ।

दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन् । त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्ष थिइन् । उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी थिइन् ।

मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभर चर्को विरोध भएपछि उनले राजीनामा दिन वाध्य हुनु परेको थियो ।

राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएकी थिइन् । उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेबारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो ।

अनेज राजनीतिमा आउनु भन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता समेत थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू