शनिबार, वैशाख १५, २०८१
21:05 | ०१:५०

नेटोमा फिनल्याण्ड र स्वीडेनको आवेदनप्रति टर्कीको आपत्ति

रासस–एएनआई/सिन्ह्वा मे २०, २०२२

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान । तस्बिर एपी

कोपेनहेगन (डेनमार्क), ६ जेठ-उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले सैन्य गठबन्धनमा सामेल हुन फिनल्याण्ड र स्वीडेनको आवेदनपछि उत्पन्न टर्कीको चिन्तालाई सम्बोधन 
गर्ने वाचा व्यक्त गरेका छन् ।

‘हामीले टर्कीले व्यक्त गरेको चिन्तालाई सम्बोधन गर्दैछौं’, उनले डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनसँग संयुक्त रूपमा यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हन् ।

फिनल्याण्ड र स्वीडेनले नेटो सदस्यताका निम्ति हालै आवेदन दिएका छन् ।

स्टोल्टेनबर्गले फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुनका लागि दिएको निवेदनहरूलाई ‘सबै सहयोगीहरूको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्ने आवश्यकताको रूपमा’ समन्वयात्मक रूपमा निर्णय र व्यवस्थापन गरिने बताएका छन्।

सो अवसरमा उनले नेटो ‘फिनल्याण्ड, स्वीडेन र टर्कीसँग नजिकको सम्पर्कमा रहेको’ पनि उल्लेख गरेका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीमाथि प्रतिबन्ध लगाएका फिनल्याण्ड र स्वीडेनको सम्मिलनमा आफू सहमत नहुने बताएका छन् ।

अंकाराले कुर्दिस्तान वर्कर्स पार्टी र सिरियामा कुर्दिश मिलिशिया पिपुल्स डिफेन्स युनिटलाई उल्लेख गर्दै दुबै राष्ट्रले “आतंकवादी संगठन“ लाई समर्थन गरेको आरोप लगाएको छ।
नेटो देशहरूसँगको आफ्नो भूमि सीमा दोब्बर भएको देख्न सक्ने रुसले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन बारम्बार चेतावनी दिँदै आएको छ । रुसले यस्तो कदमले

बाल्टिक सागर क्षेत्रमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएर ‘सैन्य सन्तुलन पुनस्थापना’ गर्न वाध्य पार्ने पनि बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू