शुक्रबार, वैशाख ७, २०८१
07:53 | १२:३८

इरानले यूरोपमा ग्यास निर्यात गर्नेबारे छलफल

रासस/एएफपी मे १५, २०२२

मस्कोको आक्रमणले यूरोपमा ऊर्जा संकट झनै खराब हुन सक्ने आशंका उत्पन्न भएको छ ।

तेहरान, १ जेठ-इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ ।

यूक्रेनमा रूस र यूक्रेनबीच भएको युद्धका कारण ऊर्जाको मूल्य वृद्धि भएको पृष्ठभूमिमा आइतबार तेल मन्त्रालयका एक अधिकारीले ग्यास निर्यात गर्ने सम्भावनाबारे छलफल भइरहेको जनाए ।

इरानको राज्य सञ्चालित समाचार संस्था शानाले मन्त्रालयका इन्धनमामिला उप–मन्त्री माजिद चेगेनीलाई उद्धृत गर्दै भनेको छ, “इरानले यो विषयमा अध्ययन गरिरहेको छ तर हामी अहिलेसम्म निष्कर्षमा पुगेका छैनौं ।”

“इरान सधैं ऊर्जा कूटनीतिको विकास र बजार विस्तारको सम्भावनामाथि जोड दिन्छ,” ति मन्त्रीले भनेका छन् ।

यद्यपि इरान विश्वकै सबैभन्दा ठूलो प्रमाणित ग्याँस भण्डार मध्ये एक हो, यसको उद्योग अमेरिकी प्रतिबन्धद्वारा प्रभावित भएको छ जुन सन् २०१८ मा वासिङ्टन तेहरान र विश्वशक्ति राष्ट्रहरूबीचको ऐतिहासिक आणविक सम्झौताबाट हटेपछि पुनः लागू गरिएको थियो ।

सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्ने उद्देश्यले गत वर्ष भियनामा वार्ता सुरु भएको थियो तर उल्लेखनीय विषयहरूमा हुनुपर्ने उक्त वार्ता हप्तौंदेखि रोकिएको छ ।

फेब्रुअरीमा रूसद्वारा युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी तेल र ग्यासको मूल्य बढेको छ । धेरै यूरोपेली देशहरू रूसबाट ऊर्जा आयातमा निर्भर छन् ।

कीभले यूक्रेनको पूर्वमा रहेको प्रमुख ट्रान्जिट हबमार्फत् रुसले ग्यास आपूर्ति रोकेको बताएको छ । यसले गर्दा मस्कोको आक्रमणले यूरोपमा ऊर्जा संकट झनै खराब हुन सक्ने आशंका उत्पन्न भएको छ ।

गत वर्ष युरोपेली संघले लगभग १५५ अर्ब घन मिटर रूसी ग्याँस प्राप्त गरेको थियो र यो आयातको ४५ प्रतिशत हिस्सा हो ।

इरानका उप तेल मन्त्रीले पनि तेहरान र बगदादले केही हप्ताअघि समझदारी पत्रमा हस्ताक्षर गरेको कुरा पुष्टि गर्दै इस्लामिक गणतन्त्र इरानले इराकमा ग्याँस निर्यात बढाएको पनि बताएका छन् ।

धेरै ग्यास भण्डार बावजुद दशकौंको युद्ध र प्रतिबन्धका कारण तथा लगानी गर्ने अवस्था कमजोर बन्दा इराक आफ्नो पूर्वी छिमेकीबाट आयातमा निर्भर बन्ने गरेको छ ।

तथापि, इरानी तेल र ग्याँसमाथि अमेरिकी प्रतिबन्धले आयातका लागि इराकको भुक्तानी जटिल बनाएको छ ।

बग्दादले इरानमा अमेरिकी प्रतिबन्धबाट छूट पालन गर्न जटिल भुक्तानी विधिको प्रयोग गर्छ । खाद्य तथा औषधीहरूको आयातलाई वित्त पोषण गर्न भुक्तानी प्रयोग गर्नुपर्ने भएकाले इराकलाई केवल इरानलाई नगद हस्तान्तरण गर्न अनुमति दिइएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू