सोमबार, वैशाख १७, २०८१
21:53 | ०२:३८

लन्डनमा पहिलोपटक बिस्का जात्रा हेर्न तछाडमछाड

नेपाली लिङ्क अप्रिल ११, २०२२

लन्डन । बेलायतमा पहिलोपटक उल्लासका साथ बिस्का जात्रा मनाइएको छ ।

पासा पुचः गुथि यूकेले आइतबार साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा आयोजना गरेको जात्रामा नेवा तथा गैरनेवा समुदायका बेलायतवासी ८ सय बढी नेपालीको सहभागिता रह्यो ।

जात्रा हेर्न दोश्रो पुस्ताका किशोरकिशोरी पनि उत्साहजनक रुपमा सहभागी भएका थिए ।

पासा पुचः यूकेले हरेक दुई वर्षमा बेलायतमा गर्दै आएको नेवाः मुनाको अवसरमा यसपटक बिस्का जात्रा गरिएको हो ।

जात्रामा गुथिका स्वयंसेवकहरुद्वारा लन्डनमै निर्माण गरिएका भैरव र भद्रकालीको रथ तानिएको थियो । शुरुमा परम्परागत शैलीमा रथ तानेर लिंगो ठड्याइएको थियो भने पछि फेरि रथ तान्दै लिंगो ढालेर रथ जुधाइएको थियो ।

रथ तानिएपछि कम्युनिटी हलमा आयोजित नेवा मुना, ने सं ११४२ लाई सम्बोधन गर्दै प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्यले नेपालबाट यति टाढा आफ्नो देशको, क्षेत्रको, कला संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्नु उदाहरणीय भएको भन्दै बधाइ दिए । कार्यक्रमले नेपालको सांस्कृतिक महत्व एवं एकताको भावना प्रदर्शन गरेको राजदूतले बताए ।

साउथ इष्ट लन्डन र वेष्ट लन्डनको समूहले एक एकवटा रथ बनाएको थियो ।

रथ बनाउन तीन हप्ता अवधिमा झण्डै २ सय घण्टा बढी समय र करिब ४ हजार पाउण्ड खर्च भएको आयोजक पासा पुचः गुथि यूकेका अध्यक्ष ओजेश सिंहले बताए ।

‘रथ बनाउन निकै चुनौति थियो । भक्तपुरको जस्तो रथ नभएपनि त्यहांको जस्तै बनाउने प्रयास गर्यौं’, सिंहले भने, ‘बेलायतमा पनि नेवा कला संस्कृति र परम्पराको जगेर्ना एवं अपनत्वको भावना जगाइराख्न बिस्का जात्रा गरिएको हो ।’

अध्यक्ष सिंहले गुथि बेलायतको च्यारिटी संस्था भएको जनाउंदै यसले धेरै कल्याणकारी काम गरेको र कोभिड महामारीका बेला एकसय वटा कन्सन्ट्रेटर नेपाल पठाएको जानकारी दिए ।

बेलायतमा नेवाः कला संस्कृति, रितिथिति, परम्परा भेषभूषा, बाजागाजा, पर्व र जात्राहरु जगेर्ना 
गर्ने गुथिको उद्देश्य रहेको बिस्का जात्रा लन्डन व्यवस्थापक एवं पासा पुचः गुथि यूकेका उपाध्यक्ष सुशील प्रजापतिले बताए । प्रजापतिले भक्तपुरमा बिस्का जात्रामा हुलदंगा, ढुंगा हानाहान भएपनि लन्डनमा शान्तिपूर्ण रुपमा जात्रा गरिएको जनाउंदै भक्तपुरले पनि बेलायतबाट सन्देश लिओस् भन्ने कामना गरे ।

राजदूत ज्ञानचन्द्र आचार्य

नेवा मुनाको संयोजन पासा पुच गुठि साउथ इष्ट लन्डनका अध्यक्ष माधवलाल श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा भैरव नाच, हुलां प्याखं, महिला तथा बच्चाहरुले समेत परम्परागत धिमे बाजा, ढां बाजा प्रस्तुत गरेका थिए । सो अवसरमा शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स् थियो । यसै क्रममा उलवीचमा ए स्टारको नयाँ  अफिस खुलेको घोषणा पनि गरियो।

नयां वर्षको आगमनसंगै तान्त्रिक विधिबाट मनाइने परापूर्वकालदेखि चलिआएको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्का (बिस्केट) जात्रा लन्डनमा पनि निरन्तर गर्ने गुथिको योजना छ ।

बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रा नयां वर्षको चार दिन अगाडिदेखि सुरु भई नयां वर्षको पांच दिनसम्म सञ्चालन हुन्छ ।

तस्बिरहरु- रुपक प्रजापति

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू