शुक्रबार, चैत १६, २०८०
21:45 | ०३:३०

युक्रेन संकटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

रासस–एएनआई मार्च २१, २०२२

वासिङ्टन (अमेरिका), ७ चैत–अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्ड जाने भएका छन् ।
यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ।

उक्त भ्रमण नेटो सहयोगीहरू, जि ७ नेताहरू र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएकी छन् ।

मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्याण्डको वार्सा पुग्ने र त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ।
‘राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ’, ह्वाइटहाउसले उल्लेख गरेको छ।

मार्च २३ मा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्नेछन् । मार्च २४ मा बाइडेनले युक्रेनमा रूसको अप्रत्याशित र अनुचित आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिने छन् । राष्ट्रपतिले नेटो सहयोगीहरू र नेटो क्षेत्रको रक्षा गर्नका लागि कडा प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू