शनिबार, वैशाख ८, २०८१
03:45 | ०८:३०

दक्षिण कोरियामा एकैदिन तीन लाख ८३ हजार संक्रमित   

रासस-सिन्ह्वा मार्च १२, २०२२

सोल–दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या गत शुक्रबार सबैभन्दा धेरै देखिएको छ ।

सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरुको कुल सङ्ख्या ६२ लाख छ हजार २७७ पुगेको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले संक्रमितहरुको सङ्ख्या अत्यधिक देखिएको छ । नयाँ संक्रमित मध्ये ८० हजार ४३७ जना राजधानी सोलका मात्रै छन् ।

त्यसैगरी ग्योङगी प्रान्तमा एक लाख सात हजार ९४१ र इन्चेओनमा २३ हजार ७३५ जना संक्रमित भएका छन् । कुल संक्रमित मध्ये एक हजार ६६ जना मात्रै गम्भीर अवस्थामा छन् । ती मध्ये ५० जना पछिल्लो एक दिनमा थपिएका हुन् ।

कोरोनाकै कारण दक्षिण कोरियामा पछिल्लो एक दिनमा २६९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या १० हजार १४४ पुगेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू