शुक्रबार, वैशाख ७, २०८१
03:17 | ०८:०२

अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच युक्रेन तनावबारे छलफल

रासस /एएनआई फ्रेब्रवरी २२, २०२२

वासिङ्टन (अमेरिका), १० फागुन–अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र रुसको सीमामा जारी तनावबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन् ।

यो फोनवार्ता पूर्वी युक्रेनको डोनेस्क र लुहान्स्कको स्वतन्त्रतालाई रुसले मान्यता दिएपछि यस क्षेत्रमा तनाव बढेको विषयमा केन्द्रित रहेको बुझिएको छ ।

विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग रुस–युक्रेन तनाव र युक्रेन विरुद्ध रुसको सम्भावित आक्रमणका बारेमा छलफल भएको र ब्लिन्केनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई जोगाउनु पर्ने आवश्यकतालाई जोड दिएको’ प्रवक्ता नेड प्राइसले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको डोनेस्क र लुहान्स्क क्षेत्रलाई ‘स्वतन्त्र’ भनेर मान्यता दिने निर्णयको कडा निन्दा गरेको छ । अमेरिकाले सो निर्णयलाई मिन्स्क सम्झौताहरू अन्तर्गत रूसका प्रतिबद्धताहरूको पूर्ण अस्वीकार भनेको छ।

यसैबीच, चीनले युक्रेनमा तनावमा संलग्न सबै पक्षलाई वार्ता जारी राख्न र कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पूर्वी डोनेस्क र लुहान्स्क क्षेत्रका केही क्षेत्रको स्थितिबारे रुसको निर्णयप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

प्रवक्ता स्टेफेन डुजारिकद्वारा जारी विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ प्रमुखले पूर्वी युक्रेनमा द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि मिन्सको निर्देशन अनुसार अगाडि बढ्न आह्वान गरेको उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू