बिहीबार, वैशाख १३, २०८१
14:44 | १९:२९

भारतमा बम विस्फोट गराएका ३८ जनालाई मृत्युदण्डको फैसला

रासस-एएनआई फ्रेब्रवरी १८, २०२२

अहमदाबाद–भारतको अहमदावादमा भएको बम विस्फोटन घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ । गुजरातको विषेश अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो ।

घटनामा दोषी दावी गरिएको ४९ जनालाई जेलमा राखिएकोमा ३८ जनालाई मात्रै मृत्युदण्डको फैसला सुनाइएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार श्रृंखलाबद्ध बम विस्फोटनको घटनामा संलग्न बाँकी ११ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ । घटनामा दोषी ठहरिएका सबैले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने विकल्प भने अझै पनि बाँकी छ ।

अहमदाबाद बमकाण्डमा ७८ जनाविरुद्ध मुद्दा चलाइएकोमा २८ जनालाई भने अदालतले सफाइ दिएको छ । उनीहरूले सन् २००८ को जुलाई २६ मा ७० मिनेटको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात, अस्पताल लगायतका क्षेत्रमा २१ बम विस्फोटन गराएका थिए । सो श्रृंखलाबद्ध विस्फोटनमा परी ५६ जनाको मृत्यु भएको थियो भने अरु २०० भन्दा बढी घाइते भएका थिए ।

त्यतिबेला विस्फोट नभएका थुप्रै बमहरू पनि फेला पारिएको प्रहरीले जनाएको थियो । घटनाको जिम्मेवारी भारतले आतङ्कवादी घोषणा गरेको इस्लामिक समूह, हर्कत–उल– जिहाद–अल इस्लामीले लिएको थियो । पुनेस्थित एउटा जर्मन बेकरीमा १७ जनाको ज्यान जानेगरी गराइएको विस्फोटपश्चात् सन् २०१० पछि भारत सरकारले उक्त समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू