शुक्रबार, वैशाख १४, २०८१
06:13 | १०:५८

जापानले व्यवसायी, कामदार र विद्यार्थीलाई प्रवेश सहज गर्ने

रासस-एएफपी फ्रेब्रवरी १७, २०२२

टोकियो शहर । तस्बिर-एएफपी

टोकियो, ५ फागुन–जापानले मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई खुकुलो बनाउने बताएको छ ।

यद्यपि पर्यटकका लागि भने अझै पनि रोक लगाइने प्रधानमन्त्री फुमिओ किशिदाले बिहीबार बताए ।

यो कदम व्यापारिक समुदाय र शिक्षाविद्हरूबाट जापानलाई सीमा प्रतिबन्ध खुकुलो पार्न बढ्दो दबाबपछि चालिएको हो । जी–७ राष्ट्रहरूले कोभिड नियन्त्रणका लागि प्रतिबन्धहरूलाई तत्काल हटाइहाल्न नहुने बताइरहेका समय भएको निर्णयलाई जापानी नागरिकबाट व्यापक समर्थन मिल्ने देखिएको छ ।

जापानले यस महामारीको प्रारम्भिक दिनदेखि नै पर्यटकहरूलाई रोकेको छ । कतिपय अवस्थामा जापानमा बसोबास गर्दै आएका विदेशी बासिन्दाहरूलाई समेत देशभित्र प्रवेश गर्नबाट रोक लगाउँदै आइएको छ ।

गत नोभेम्बरमा सरकारले केही विद्यार्थी तथा व्यापारीहरूलाई प्रवेश गर्न अनुमति दिनका लागि नियमहरूलाई सामान्य खुकुलो पारेको थियो । तर, कोरोना भाइरसको नयाँ विकसित ओमिक्रोन नामक भेरिएन्टका कारण तत्काल यस योजनालाई उल्ट्याएको थियो ।

विशेषज्ञहरूको भनाइअनुसार ओमिक्रोनका कारण संक्रमितहरूको संख्या उच्च बनेपछि जापानमा अहिले स्वास्थ्य संस्थाहरूमा विरामीहरूको चाप बढेको छ ।

पर्यटनका लागि आउनेबाहेक नयाँ आगन्तुकलाई मार्च १ देखि प्रवेश अनुमति दिने किशिदाले बताए । अहिले तीन हजार ५०० देखि पाँच हजारसम्म दैनिक प्रवेशाज्ञा दिइने उनले बताए ।

आप्रवासनमामिला हेर्ने एक निकायका अधिकारीले एएफपीलाई बताएअनुसार जापानले जनवरी ४ सम्ममा आफ्नो मुलुकमा प्रवेश गर्न पर्खिरहेका चार लाखभन्दा बढी विदेशीहरूको प्रवेशाज्ञाका लागि अनुमति दिइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू