बिहीबार, चैत १५, २०८०
11:08 | १६:५३

सुडानमा सैनिक शासनविरुद्ध प्रदर्शन, गोली लागेर सातको मृत्यु

रासस/सिन्ह्वा जनवरी १८, २०२२

आक्रोशित नागरिकले बन्द गरिदिएको सडक । तस्बिर- एपी

खार्तुम, ४ माघ–सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

राजधानी खार्तुममा भेला भएका हजारौं प्रर्दशनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको हो ।

प्रर्दशन नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै दर्जनौ सेल अश्रुग्याँस प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

सुडानमा लामो समयदेखि शासन गर्दै आएको शासक ओमार अल बसिरलाई सन् २०१९ को अप्रिलमा अपदस्थ गरी सेनाले सत्ता लिएको थियो ।

प्रदर्शनकै क्रममा प्रर्दशनकारीहरुले नागरिक शासनको माग गर्दै सेना बिरुद्ध चर्को नारा लगाएका छन् । सोही क्रममा उनीहरुले ठाउँ ठाउँमा टायर बाली सडक अवरुद्ध गरेका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघले सुडानको सैनिक कु का बिषयमा सुडानी सेनासँग तत्काल वार्ता गर्ने जनाएको छ ।

सुडानमा गत बर्ष देखि सुरु भएको सेना बिरुद्धको प्रदर्शनमा हालसम्म ७१ जना मारिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू