शनिबार, वैशाख ८, २०८१
23:55 | ०४:४०

भारतमा थप दुई लाख ३८ हजार नयाँ संक्रमित  

रासस-एएनआई जनवरी १८, २०२२

नयाँ दिल्ली– भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना संक्रमित भएका छन् ।

अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।

सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघिको २४ घण्टामा दुई लाख ५८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका थिए । सोमबार सार्वजनिक गरिएको दैनिक संक्रमितको संख्या मंगलबार २० हजार ७१२ जना कम थियो ।

भारतमा अहिलेसम्म कुल तीन करोड ७५ लाख भन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । ती मध्ये १७ लाख ३६ हजार ६२८ जना अहिले पनि संक्रमित अवस्थामै छन् ।

संक्रमित अवस्थामै रहेकाहरुको संख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । हाल रहेका सक्रिय संक्रमित मध्ये आठ हजार ८९१ जना मात्रै ओमिक्रोनबाट संक्रमित रहेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख ५७ हजार ४२१ छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५३ लाख ९४ हजार ८८२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा ३१० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ७६१ छ । यहाँ कोरोना भाइरस निको हुने दर ९४.०९ प्रतिशत रहेको जनाइएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ५४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ४ लाखभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू