बिहीबार, वैशाख १३, २०८१
04:40 | ०९:२५

डा रिजाललाई बङ्गलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’

रासस जनवरी ४, २०२२

काठमाडौँ–बंगलादेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बंगलादेश मैत्री संघका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ ।

बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स्वर्ण वर्षका अवसरमा बंगलादेश र अन्य देशका विद्वान् एवं सामाजिक अभियानकर्मीसँगै रिजालद्वयलाई शनिबार राजनीतिक–सामाजिक सेवावापत सो सम्मान दिइएको हो ।

बंगलादेशका मुक्तियुद्धसम्बन्धी मन्त्री एकेएम मोजाम हकले उनीहरूलाई सो सम्मान प्रदान गर्दै डा रिजालले त्यहाँ अध्ययनका क्रममा ११ वर्ष रहँदा रेडियोमा काम गरी स्वतन्त्रताका लागि योगदान गरेको तथा अध्यक्ष रिजालले दुई देशबीच सम्बन्ध बढाउन पुलका रूपमा काम गरेको बताए ।

फाउन्डेशनका संयोजक सदी–उज जमान, सचिव मदुल हक तैयब, चौधरी नेजारुल हक, विशाल जैन, पाञ्चाली देव वर्मा (भारत) लगायतले समाजको शान्ति, एकता, संस्कृति, अनुशासन, सम्बन्ध विस्तार र शोषणको अन्त्यमा जोड दिँदै विश्वमा विवादको समाधान शान्तिपूर्ण वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा डा रिजालले ‘हाम्रो बंगलादेश…’ बोलको गीत तथा अन्य कलाकारले बंगलादेशी गीतसंगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालबाट अधिवक्ता दीपक दाहाल, सरला रिजाल, निशिषकुमार रेग्मी, डा करिष्मा पाण्डे, डा रेशिस श्रेष्ठलगायत बंगलादेश र भारतका प्रबुद्ध व्यक्तित्वको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू