शनिबार, जेठ ५, २०८१
12:09 | १६:५४

बेलायतमा तीनदिनभित्र तीन लाख बढी संक्रमित, नयाँ वर्षपछि मात्र प्रतिबन्ध लागू हुने  

नेपाली लिङ्क डिसेम्बर २७, २०२१

लण्डन । बेलायतमा कोरोना संक्रमण दर उच्च विन्दूमा पुगे पनि सरकारले तत्कालै प्रतिबन्ध लागू नगर्ने जनाएको छ । क्रिसमसपछि संक्रमण दर नियन्त्रण गर्न कडा प्रतिबन्ध लगाइने भनिएपनि नयाँ वर्ष अगाडि कुनै प्रतिबन्ध नलगाइने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले आज बताएका हुन् ।

तर, बेलायतका अन्य क्षेत्रमा भने प्रतिबन्ध लागू गरिसकिएको छ ।

क्रिसमस अवधिभरमा यहाँ थप तीन लाख बीस हजार नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । शनिबार र आइतबार क्रमश: क्रिसमस र बक्सिङ डे परेको हुँदा दैनिक संक्रमित संख्या सार्वजनिक गरिएको थिएन।

पछिल्लो २४ घन्टामा थप ९८ हजार ५१५ संक्रमित थपिएसंगै तीन दिनमा तीन लाख बीस हजार संक्रमित थपिएका हुन् ।

तर, आज सार्वजनिक गरिएको २४ घन्टाको तथ्यांकमा वेल्स, नर्दर्न आएरल्याण्ड र स्कटल्याण्ड समावेस छैन ।

इंग्ल्याण्डको तथ्यांक अनुसार क्रिसमस डेका दिन एक लाख १३ हजार ६२८ र बक्सिङ डेका दिन एक लाख तीन हजार ५५८ जना संक्रमित भएका थिए ।

क्रिसमस डेमा भएको संक्रमित संख्या महामारीयताकै तेस्रो सबैभन्दा बढी हो । यसअघि डिसेम्बर २२ मा एक लाख २१ हजार ५३९ र डिसेम्बर २१ मा एक लाख १५ हजार ४६५ संक्रमित भएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ ।

योसंगै  बेलायतमा कोरोना संक्रमितको कुल संख्या एक करोड २२ लाख नाघेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १४३ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४८ हजार नाघेको छ ।

तर, कोभिडद्वारा मृत्यु भएको भनि गरिएको मृत्यु दर्ताको आधारमा भने मृतक संख्या एक लाख ७१ हजार बढी छ ।

संक्रमणदर बढेसंगै अस्पताल भर्ना हुनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घन्टामा अस्पताल भर्ना हुनेको संख्या एक हजार ११७ पुगेको छ ।

हाल बेलायतका अस्पतालमा आठ हजार २४० जनाको उपचार भइरहेको छ भने ८४२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू