शुक्रबार, वैशाख १४, २०८१
04:57 | ०९:४२

म्यानमारकी नेतृ सुकीलाई चार वर्ष जेल सजायको फैसला   

रासस-एएफपी डिसेम्बर ६, २०२१

फाइल तस्बिर एपी

याङ्गुन–म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराउने भएको छ ।

सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस विरुद्धको नियमहरु उल्लंघन गरेको आरोपमा उनलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो ।

सुकीसँगै पूर्व राष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेल सजाय तोकिएको हो । दुवै जनालाई एउटै आरोप लगाइएको छ । नोबेल पुरस्कार विजेता ७६ वर्षीया नेतृ सुकीलाई म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ । उनलाई कारागार चलान गर्नु पर्ने फैसला सोमबार गरिएको भएपनि नजरबन्दबाट कारागार कहिले लैजाने भन्ने यकिन भने नभएको समाचारमा जनाइएको छ ।

कतिपयले नजरबन्दबाट कारागार लैजानकै लागि सैनिक सरकारले अनावश्यक मुद्धा लगाएर दोषी देखाएको आरोप पनि लगाएका छन् ।

नेतृ सुकीलाई यो बाहेक आर्थिक अनियमितता गरेको, शक्ति र श्रोत साधनको दुरुपयोग गरेको लगायतका दर्जनौ मुद्धा सैनिक सरकारले लगाएको छ । ती मुद्धाहरुमा दोषी ठहर भएमा उनलाई आजिवन जेल सजाय हुनेछ । ती मुद्धाहरुमा अहिले सुनुवाइ भइरहेको छ ।

तर सुकी र उनका समर्थकहरुले भने राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले झुटा आरोप र मुद्धाहरु लगाएको दाबी गरेका छन् । निर्वाचित सरकार र संसदलाई समेत विघटन गरिएको घोषणा गर्दै सैनिक नेतृत्वले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएको थियो । सैनिक नेतृत्वले सत्ता कब्जा गरेपछि म्यानमारमा लामो समय आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १३ सयभन्दा बढीको मृत्यु भएको थियो भने अरु कैयौ घाइते भएका थिए । त्यसैगरी आन्दोलनमा सहभागी भएका मध्ये हजारौँलाई प्रहरीले गिरफ्तार गरेको छ ।

तत्कालिन नवगठित संसदको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट व्यक्त गरेको सेनाले फेरि निर्वाचन गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने दावी गरेको छ । तर अहिलेसम्म निर्वाचनका लागि ठोस कार्य भएको देखिएको छैन भने निर्वाचन हुने वातावरण पनि बन्न सकेको छैन् ।

सैनिकले निर्वाचित सरकार र संसदलाई विघटन गरी आफू खुशी सत्ता हातमा लिएपछि विश्वभरबाट विरोध भएको छ भने कतिपयले सहकार्य र सहयोग पनि रोकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू