शुक्रबार, वैशाख १४, २०८१
18:21 | २३:०६

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

रासस/एएनआई डिसेम्बर ५, २०२१

बैंगलोरमा स्वाव लिंदै एक स्वास्थ्यकर्मी । तस्बिर- सिन्हवा

नयाँ दिल्ली, १९ मङ्सिर– भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।

विगत केही दिनयता मृत्यु हुनेको संख्या ४०० को हाराहारीमा थियो । शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको छ जसमा बिहारमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको पूरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ ।

यद्यपि हिजो एकै दिनमा केरलामा कोरोना संक्रमणका कारण २६३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

आइतबार बिहानसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ ।

देशमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ संक्रमित छन् । यो संख्या कूल संक्रमतिको एक प्रतिशत भन्दा कम हो । सक्रिय संक्रमितको यो संख्या ०.२९ प्रतिशत रहेको जनाइएको छ ।

गएको एक दिनमा ६ हजार ९१८ जना कोरोना मुक्त भएका छन् । हालसम्म ३ करोड ४० लाख ६० हजार ७७४ जना कोरोना निको भएका छन् । कोरोना मुक्त यो दर ९८.३५ रहेको समाचारमा जनाइएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ थपिएसँगै आइतबार देशमा कोभिड–१९ संक्रमितको संख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।

भारत शनिबार एकै दिन १२ लाख २६ हजार ६४ जनाको कोरोना परिक्षण गरिएको थियो । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जना कोरोना परिक्षण गरिएको जनाइएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ९५ लाख ३८ हजार ३० डोज खोप लगाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू