शुक्रबार, वैशाख ७, २०८१
05:23 | १०:०८

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह  

रासस डिसेम्बर ३, २०२१

काठमाडौँ–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् ।

उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, “यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।”

उनका अनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि भएको छ । उनले ओमिक्रोन भेरियन्ट कोरोनाको अन्य भेरियन्टजस्तै प्रतिकार्य गर्न सकिनेसमेत बताइन् ।

सिंहले सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गरिन् ।

उनले मानिसले आफ्नो नाक र मुख राम्ररी छोप्नुपर्ने र राम्रोसँग ठिक हुने मास्क लगाउनसमेत आग्रह गरिन् । सिंहले खोप लगाएपछि पनि सबै सावधानी अपनाउन जारी राख्न आग्रह गरेकी छन् ।

ओमिक्रोन भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेको भन्दै उनले विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नका लागि अध्ययन गरिरहेको जानकारी दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू