सोमबार, जेठ ७, २०८१
00:06 | ०४:५१

फेसबुकको नाम परिवर्तन

रासस/सिन्ह्वा अक्टोबर ३०, २०२१

सान फ्रान्सिस्को, १२ कात्तिक– चर्चित सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था परिवर्तन भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाइएको बिहिबार घोषणा गरेका हुन् ।

कम्पनीले सामाजिक सञ्जालभन्दा बढी ‘भर्चुअल रियलिटी’जस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहेकाले त्यही अनुसारको नयाँ नाम राख्नु परेको जुकरवर्गले बताए ।

“नयाँ राखिएको नामले कम्पनीको कार्यक्षेत्र विस्तारमा सजिलो हुने विश्वास लिएका छौँ,” प्रमुख कार्यकारी अधिकृत जुकरवर्गले भने ।

अहिलेको नामले सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको उनले स्पष्ट पारे ।

यसअघि कम्पनीको नाम पनि फेसबुक नै थियो । फेसवुक कम्पनीमार्फत् फेसवुकसँगै इन्स्टाग्राम, ह्वाट्स एप सञ्चालित थियो ।

कम्पनीले विहिवार नै अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।

फेसवुकका एकजना पूर्व कर्मचारीले कागजातहरू सार्वजनिक गरिदिएपछि फेसबुकबारे नकारात्मक धारणा बनिरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो ।

यसअघि सन् २०१५ मा यस्तै अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो मुख्य कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो ।

नयाँ नामका कारणले भविष्यमा यस कम्पनीका प्रयोगकर्ताहरूले कम्पनीका अन्य सुविधा प्रयोग गर्न फेसबुक प्रयोग गर्नु पर्ने बाध्यता हट्ने जुकरवर्गको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू