सोमबार, जेठ ७, २०८१
08:16 | १३:०१

स्वास्थ्यकर्मीलाई कोभिड खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनको आग्रह   

१ लाख १५ हजार स्वास्थ्यकर्मीको ज्यान गयो

रासस-सिन्ह्वा अक्टोबर २२, २०२१

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेसस । तस्बिर सिन्हवा

जेनेभा ५ कात्तिक– विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरु नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो ।

विश्व स्वास्थ्य संगठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि १ लाख १५ हजार जना स्वास्थ्यकर्मीहरुको ज्यान गएको बताएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महिनाको बीचमा यतिधेरै स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान गरिएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस आधनाम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताए । उनले अहिले पनि विश्वका करिब ११९ देशका स्वास्थ्यकर्मीहरुको तथ्यांक हेर्दा ती देशका करिब पाँच स्वास्थ्यकर्मीमध्ये दुई जनाले मात्र खोपको पूर्ण मात्रा प्राप्त गरेका बताएका छन् ।

त्यसैले अहिले पनि विश्वमा कोभिड महामारीको अवस्था नहटेको र त्यसमा स्वास्थ्यकर्मीहरु पहिलो पंक्तिमा बसेर काम गर्नुपर्ने भएकाले उनीहरुलाई खोप उपलब्ध गराउनुपर्ने टेड्रोसको जोड छ । अहिले विश्वमा खोपको न्यायपूर्ण वितरण हुन नसकेको बताइएको छ । यस विषयमा विश्व स्वास्थ्य सगठनले पनि आलोचना गर्ने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू