बिहीबार, वैशाख १३, २०८१
08:21 | १३:०६

बेलायतमा कोरोनाका कारण सात महिनायताकै उच्च मृत्यु   

२४ घन्टामा २२३ को मृत्यु

नेपाली लिङ्क अक्टोबर १९, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण हुने दैनिक मृतक संख्या ७ महिनायताकै उच्च कायम भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार  गएको २४ घन्टामा २२३ जना संक्रमितको मृत्यु भएको हो । यो संख्या गत मार्च ९ तारिख पछिकै सबैभन्दा बढी हो ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाक ३८ हजार ८५२ पुगेको छ ।

एकसाताभित्र ९११ जना संक्रमितको मृत्यु भएको छ, जुन संख्या अघिल्लो हप्ताको तुलनामा १४.६ प्रतिशतले बढेको हो । राष्ट्रिय तथ्यांकको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिडका कारण गरिएको मृत्युदर्ताका आधारमा एक लाख ६४ हजारको मृत्यु भएको उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ४३ हजार ७३८ जना नयाँ संक्रमित फेला परेका छन् । बेलायतमा हालसम्म कोरोनाका संक्रमितको कुल संख्या ८५ लाख ४१ हजार १९२ पुगेको छ ।

संक्रमण दर अघिल्लो हप्ताको तुलनामा १६ प्रतिशतले बढेको छ । अघिल्लो दिन २४ घन्टामा करिब ५० हजार नयाँ संक्रमित थपिएका थिए ।

संक्रमण दर बढेसंगै आउँदो जाडोयाम निकै चुनौतिपूर्ण हुने सरकारको धारणा बाहिरिएको छ । संक्रमण दर नियन्त्रणका लागि बेलायतमा ‘प्लान बी’ अन्तरगतको सुरक्षानीति लागू गर्ने तयार गरेको छ ।

‘प्लान ए’ अन्तर्गत ५० वर्ष माथिका र अन्य उच्च जोखिममा रहेकालाई ‘बुष्टर डोज’ वितरण गर्ने, १२ देखि १५ वर्ष उमेरकालाई पहिलो डोज खोप वितरण गर्ने र भीडभाडमा मास्क लगाउने जस्ता नियम लागू गरिनेछ ।

तर, प्लान बी अन्तर्गत के कस्ता  नियम लागू हुन्छन् भन्ने बारेमा सरकारको कुनै स्पष्ट धारणा सार्वजनिक भएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू