शुक्रबार, चैत १६, २०८०
19:25 | ०१:१०

अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी

रासस/एएनआई अक्टोबर १८, २०२१

अफगानिस्तानकी एक स्कुले शिक्षिका एएफपीलाई अन्तर्वार्ता दिने क्रममा । तस्बिर एपी

काबुल, १ कात्तिक– अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ ।

छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो ।

वर्तमान विश्वमा विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानवअधिकार मानिएकाले उनीहरुलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन विश्वभरबाट माग हुँदै आएको थियो ।

अफगानिस्तानमा तालिबान सरकार बनेपछि छात्रलाई अध्ययन अध्यापनका लागि जान दिइएको तर छात्रालाई भने नदिइएको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।

विरोध र आलोचना गर्नेहरुको दबाबका कारण अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ ।

तालिबान सरकारको गृह मन्त्रालयका एक जना प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्ने एकिन मिति भन्न नसकिए पनि चाँडै हुने दाबी गरेका छन् ।

“मलाई जानकारी भएसम्म वा मैले बुझेसम्म धेरै छोटो समयमै विद्यालय तथा विश्वविद्यालयहरुमा छात्रा तथा महिला विद्यार्थीहरुलाई पठनपाठनको व्यवस्था हुनेछ,” एक अधिकारीले भने ।

त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा शिक्षिकाहरुलाई पनि काम गर्न अनुमति दिइएको उनले बताए ।

केही समय अगाडि अफगानिस्तानका शिक्षिकाहरुले विद्यालय तथा विश्वविद्यालयमा छात्रहरुका लागि पठनपाठन सुरु हुँदा पनि आफूहरुको रोजगारीको निरन्तरता नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

उनीहरुले रोजगारीको निरन्तरता नभएकाले पारिवारिक, आर्थिक तथा मनोवैज्ञानिक समस्यासमेत उत्पन्न भएको बताएका थिए ।

यसअघि सन् १९९६ देखि २००१ सम्म तलिबान सरकारले कठोर तथा अनुदार शासन व्यवस्था लागू गरेकाले अहिले पनि त्यस्तै कठोर र अनुदार शासन व्यवस्था लागू हुने हो कि भन्ने चिन्ता धेरैले गरेका छन् ।

अधिकारकर्मी तथा उदारवादीहरुले अनुदार नहुन तालिबान समूहलाई अनुरोध गर्दै आएका छन् भने तालिबान अधिकारीहरुले आफूहरु कठोर नहुने जवाफ दिँदै आएका छन् । तर अहिलेसम्म पनि उदार व्यवस्था लागू हुनेमा धेरैले आशंका नै गरेको पाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू