बिहीबार, वैशाख १३, २०८१
23:56 | ०४:४१

म्यानमारले जेलमा रहेका पाँच हजार बढी प्रदर्शनकारी मुक्त गर्ने    

रासस-एएफपी अक्टोबर १८, २०२१

याङ्गोन । गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारको विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताएका छन् । अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् ।

यहाँ आयोजित एक क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा हाल जारी संकटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ । प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम शुरु भएको र यसबाट देशमा अराजकता छाएको छ ।

‘कू’ को विरोधका प्रदर्शन गर्ने व्यक्तिहरुलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजार भन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरुमा रहेका राजनैतिक कैदीहरुको सहायता सम्बन्धी एक संस्थाका अधिकारीहरुले जानकारी दिएका छन् । जुलाई महिनामा देशभरका जेलहरुबाट २ हजार भन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो ।

रिहा गरिएका यी व्यक्तिहरु सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिक छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू