शनिबार, वैशाख १५, २०८१
22:07 | ०२:५२

मनोज गजुरेलले गरे मञ्जुसंग दोस्रो विवाह

नेपाली लिङ्क अक्टोबर ११, २०२१

चर्चित हास्य कलाकार मनोज गजुरेलले मञ्जु पोखरेलसँग दोस्रो विवाह गरेका छन् । चार वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत पोखरेलसंग विवाह गरेका हुन् ।

गजुरेलले फेसबुकमा लेखेका छन्, ‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु जरुरी थियो । यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो’ उनले अगाडि थपेका छन् ‘बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’

आफूहरुलाई विवाहको निर्णयमा पुग्न आफ्नो बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्दत गरेको गजुरेलले उल्लेख गरेका छन् ।

यसघि उनीप्रति मिडियाद्वारा गरिएका नकारात्मक समाचारप्रति लक्षित गर्दै मिडियाप्रति आग्रह गर्दै लेखेका छन्,  ‘सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ– कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीका लागि परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ।’

विक्रम संवत २०५३ मा मीना ढकालसँग प्रेम विवाह गरेका मनोजले ढकालसँगको बैबाहिक सम्बन्ध गत २०७४ मा आपसी सहमतिमा सम्बन्ध बिच्छेद मार्फत टुङ्याएका थिए । मनोज र मीनाका एक छोरा र एक छोरी गरेर दुई सन्तान रहेका छन् ।

सम्बन्ध विच्छेदपछि गजुरेल बालकोटस्थित घरमा छोराछोरीसँगै बस्दै आएका छन् भने मीना नयाँ बानेश्वरमा बस्छिन् । मीना फेसन डिजाइनर पनि हुन् । उनले लामो समय बुटिकसमेत सञ्चालन गरेकी थिइन् । मीनासँगको सम्बन्ध विच्छेद पछि सम्बन्धलाई लिएर मनोज चुप बसेका थिए भने मीना भने मनोजलाई विभिन्न आरोप लगाउँदै मिडियामा  चर्चामा छाउने गर्दछिन् ।

०५२ सालमा पहिलो पटक भेटेका मनोज र मीनाले प्रेमपछि २०५३ वैशाखमा काठमाडौंकै एक मन्दिरमा विवाह गरेका थिए । विवाह समयमा गजुरेल २२ वर्षका थिए भने उनी १९ वर्षकी थिइन् ।

२०७४ मा सम्बन्ध बिच्छेदमार्फत् मीनासँगको सम्बन्ध टुङ्ग्याएका मनोजको २०७७ मंसिरमा दोस्रो विवाहको चर्चा चलेको थियो । सो समय उनले बिहे गर्ने निर्णय लिएको तर आन्तरिक कुरा मिल्न बाँकी रहेकोले सबैकुरा सार्वजनिक नगर्ने कुरा बताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू