शुक्रबार, वैशाख २१, २०८१
00:01 | ०४:४६

गोर्खा सत्याग्रहको विदाइमा राजदूतले भने, ‘इतिहास रच्ने सपना अधुरै रह्यो’

नेपाली लिङ्क अक्टोबर १, २०२१

लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको विदाइ गरेको छ ।

बिहीबार सांझ लन्डनमा आयोजित एक कार्यक्रमबीच सत्याग्रहले राजदूत दम्पत्तिको विदाइ गरेको हो ।

गत २१सेप्टेम्बरमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका कर्मचारीबाहेक पूर्ववर्ती केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा पठाएका सबै १० राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि रेग्मी अक्टोबर अन्तिम साता नेपाल फर्किंदैछन् । उनले कार्यभार सम्हालेको करिब ६ महिनामात्र भएको थियो ।

कार्यक्रममा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले राजदूत रेग्मीको कूटनीतिक क्षमता र साहसका कारण आफूहरुको भोक हड्ताल अन्त्य भइ बेलायत सरकार वार्तामा बस्न राजी भएको भन्दै उनीप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

प्रमुख संयोजक राईले राजदूत रेग्मीको कार्यशैली र गोर्खाको अभिभावकका रुपमा उनको सहयोगी भावना स्मरण भइरहने पनि बताएका थिए ।

प्रत्युत्तरमा राजदूत रेग्मीले भनेका थिए, ‘म केही महिना बस्न पाएको भए गोर्खा मुद्दा किनारा लगाइ इतिहास लेख्न चाहन्थें । जोखिम मोलेरै काम 
गर्ने व्यक्ति हुं म । बेलायती कयौं मन्त्रीलाई भेटें । प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि भेट्ने र महारानी समक्ष गोर्खा मुद्दा राख्ने मेरो सपना अधुरो 
रह्यो ।’

रेग्मीले आफू नेपाल रहे पनि अब आउने नयां राजदूतसंग आफूले थालनी गरेको कामबारे प्रष्ट पार्ने आश्वासन दिएको पनि राईले जनाए ।

राजदूत रेग्मीले गोर्खा मुद्दा समाधानका लागि मन्त्रीस्तरिय वार्ता कमिटी गठन हुनुपर्नेमा जोड दिंदै यसका लागि आफूले पनि पहल गर्ने बताएको राजदूतको भनाइ उधृत गर्दै सत्याग्रहले बताएको छ ।

सो अवसरमा राईले आफूहरु फेरि आन्दोलनमा फर्कनु नपर्ला कि भन्ने विश्वास व्यक्त गरेका थिए ।

सत्याग्रह संघर्ष समितिकी महासचिव सइन्द्र थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, अन्य कर्मचारी र भूतपूर्व गोर्खाहरुको सहभागिता थियो ।

गत सप्ताहन्त अल्डरसटमा पहिलो भिसी विजेता कुलवीर थापाको सालिक अनावरण र दूतावासमै बिहीबार आयोजित उर्जा सम्मेलनमा समेत नदेखिएका राजदूत रेग्मी सत्याग्रह कार्यक्रममा भने आएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू