बिहीबार, वैशाख १३, २०८१
19:35 | ००:२०

बेलायतमा इन्धन संकट समाधान गर्न सैनिक परिचालन गरिने

रासस/एएफपी सेप्टेम्बर २८, २०२१

लण्डन, १२ असोज– बेलायतमा लामो लाइन र तेल अभावबीच पेट्रोल पम्पहरू बन्द हुन थालेपछि अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ ।

सेनाका ट्यांकर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्न तालिम दिइने सरकारले जनाएको छ । बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले केही दिनमा आपूर्ति सहज हुने बताए । उनले राज्यमा पर्याप्त आपूर्ति रहेको बताउँदै यो अवस्था केही दिनमा सहज बन्ने बताए ।

तेल आपूर्तिकर्ताहरूले आगामी दिनमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन् । तर ‘मोटरीङ ग्रुप, आरएसी’ का अनुसार केही किराना व्यापारीहरूले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन् ।

सरकारी अधिकारीहरूले भने आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन् । लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशंकाका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए ।

सरकारले ट्यांकर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ ।

बिपी र सेलजस्ता ठूला उत्पादकहरूले बेलायतका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएपनि तेल हाहाकार बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू