बिहीबार, चैत १५, २०८०
12:37 | १८:२२

एनआरएनए अध्यक्षका प्रत्यासी डा. केसीले सार्वजनिक गरे टिम

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२१

लण्डन । गैर आवासीय नेपाली संघका अध्यक्ष प्रत्यासी डा. बद्री केसीले आफ्नो समूह सार्वजनिक गरेका छन् । रसिया निवासी व्यवसायी समेत रहेका वर्तमान उपाध्यक्ष डा. केसी आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिने भएका हुन् । डा. केसी समूहबाट ६ जना उपाध्यक्षहरु (एक महिला र एक युवा अनिवार्य) उम्मेदवारको टुङ्गो लागेको छ।

उपाध्यक्षका उम्मेदवारहरुमा डा. हेम राज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान),डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन् । महिला उपाध्यक्षमा यसमिन बेगम सैयद (साउदी अरब) र युवा उपाध्यक्षमा क्षेत्रबाट रोशन थापा (अफ्रिका) ले उम्मेदवारी दिने भएका छन्।

अमेरिकी क्षेत्रबाट महासचिवमा गौरीराज जोशीलाई अघि सार्ने तयारी डा. केसी समूहले गरेको छ । जोशी बर्तमान कार्यसमितिका सचिव समेत हुन्। एक महिला अनिवार्य सहितको ४ जना सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) रहेका छन् ।

कोषाध्यक्ष पदमा लोक प्रसाद दाहाल (बेल्जियम) को नाम तय भएको छ । सहकोषाध्यक्ष पदको उम्मेदवार भने टुंग्गो लगाउन बांकी छ । तर महिला सह-कोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका) को नाम चयन भएको छ । यस्तै, महिला संयोजकमा संगीता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्यालको (आयरल्याण्ड) ले उम्मेदवारी दिने भएका छन्।

क्षेत्रीय संयोजक तथा उपसंयोजकका उम्मेदवारहरुबारे पछि निर्णय गर्ने डा. केसीको सचिवालयले जनाएको छ। आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ । नेतृत्वका लागि बेलायतका व्यवसायी कुल आचार्य र अमेरिकाबाट रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू