शुक्रबार, वैशाख ७, २०८१
07:36 | १२:२१

अधिकारीको ‘संकलित गद्यरचना’ लाई अरनिको अन्तरराष्ट्रिय पुरस्कार

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२१

लन्डन । गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले साहित्यकार हरि अधिकारीद्वारा लिखित ‘संकलितगद्य रचना’ नामक कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

संघले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष दुई लाख नगद राशी र सम्मानपत्रसहितको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरे बमोजिम पहिलोपटक २०७७ सालभरिमा प्रकाशित भएका कृतिहरूमध्ये अमेरिकामा स्थायी बसोवास गर्ने अधिकारीद्वारा लिखित कृतिलाई पुरस्कृत गरेको हो ।

निबन्ध, संस्मरण र व्यक्तिचित्र मार्फत समकालीन प्रवासी र नेपाली समाज, राजनीति, साहित्य लगायत समाजका विविध पात्रहरूबारे निजात्मक शैली, सुललित भाषा, सरल शिल्पविधान र निर्भिक प्रस्तुतिसहित गहन वैचारिक विमर्शको आग्रह राखिएकोले हरि अधिकारीको ‘संकलित गध रचना’ नामक कृतिलाई पुरस्कारका निम्ति चयन गरिएको हो ।

वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमको संयोजकत्वमा डा. हरिराज भट्टराई, डा. ज्ञानु पाण्डे र नयनराज पाण्डे सम्मिलित निर्णायक समितिले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि यस कृति चयन गरेको हो ।

पुरस्कृत कृतिका लेखक अधिकारीलाई गैरआवासीय नेपाली संघको यही अक्टोबरमा काठमाडौंमा हुने दशौ महाधिवेशनका अवसरमा पुरस्कार हस्तान्तरण गरिने समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू