शुक्रबार, चैत १६, २०८०
12:41 | १८:२६

अफगानिस्तानबाट छ लाख ३४ हजार अफगानी विस्थापित

रासस/सिन्ह्वा सेप्टेम्बर १६, २०२१

तस्बिर एएफपी

काबुल-३१ भदौ– अफगानिस्तानबाट यस वर्ष सन् २०२१ को अहिलेसम्ममा छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल छ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापित भएका मध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीहरुले जनाएका छन् ।

देशमा भइरहेको आन्तरिक द्धन्द्धका कारण उनीहरु विस्थापित भएको जनाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाहरुको सङ्ख्यामा पनि एकाएक बृद्धि भएको पाइएको छ । देश वाहिर विस्थापित भएका मध्ये विदेशी नागरिकहरुको सङ्ख्या धेरै रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

विस्थापित भएका मध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ । अफगानिस्तानमा विस्थापित भएका र संकटमा परेकाहरुलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले सबैलाई आह्वान पनि गरेको छ ।

अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन राष्ट्रसंघले विदेशी समुदायलाई आग्रह गरेको हो ।

संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ती देशले कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने ती देशले जनाएका थिए । त्यस क्रममा उनीहरुले तत्कालका लागि यति रकम दिने बताएका थिए ।

संयुक्त राष्ट्रसंघले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ ।

अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग विग्रिएको र ठूलो मानवीय संकट आउन लागेकोले सहयोगको आवश्यक परेको राष्ट्रसंघले जनाएको छ ।

हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएका थिए ।

सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तरराष्ट्रिय दातासंग संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका हुन् ।

उनले अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताएका थिए । गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।

अफगानिस्तानका नागरिकलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू