शनिबार, वैशाख ८, २०८१
02:20 | ०७:०५

एनआरएनए चुनावमा नेता गुहार्नु लज्जास्पदः डा. केसी

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२१

 

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले संघको चुनाव जित्नैका लागि राजनीतिक नेता गुहार्नु निकै लज्जास्पद भएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशन, हालसम्मको तयारी र गैरआवासीय संघका भावी कार्यक्रमबारे शनिबार पत्रकारहरूसंगको अन्तरक्रियामा डा. केसीले कमजोर उमेद्वारहरूले राजनीतिक नेता गुहारेका बताए ।

‘एकपटक पराजित भएपछि अर्कोपटक जित्नका लागि राजनीतिक दलको टिका लगाएर निर्णय गराउन जाने गरिएको छ,’ उनले भने, ‘यो गलत हो । यो कुनैपनि हालतमा हुनु हुंदैन ।’

नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसंग आफ्नो पनि राम्रो सम्बन्ध भएको उल्लेख गर्दै केसीले भने, ‘उहांहरु संगको भेटमा मैले चुनाव जित्नका लागि तपाईहरूसंग सहयोगको याचना गर्ने उमेद्वारलाई मतदाताहरूसंग जान सुझाव दिनुहोला भन्ने गरेको छु ।’

अन्तरक्रियामा बोल्दै डा. केसीले गैरआवासीय नेपाली ऐन परिमार्जन गर्न आवश्यक भएको बताए । ऐनमा भएको प्रावधानअनुसार सीमित रुपमा लगानी गर्न वा सम्पत्ति किन्न सक्ने प्रावधान भएपनि व्यवहारमा सम्भव नभएकाले ऐनका प्रावधानहरूमाथि पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

डा. केसीले १८ वर्षको अवधिमा संघले आफ्नो मार्गचित्र स्पष्ट रुपमा कोरेको र आगामी कार्यसमितिले त्यसअनुरुप काम गर्नुपर्ने बताए । आफू गैरआवासीय नेपालीले राजनीतिकबाहेक सामाजिक, सांस्कृति र आर्थिक अधिकार पाउनुपर्ने पक्षमा रहेको भन्दै डा. केसीले भने, ‘नेपाली नागरिकता लिएको खण्डमा विदेशी नागरिकता गुम्ने देशमा रहेका नेपालीलाई गैरआवासीय कार्डमार्फत नै ती अधिकार सुनिश्चितता गरिनुपर्छ ।’

विदेशमा बस्दा नेपालको पैतृक सम्पत्ति वा नेपालमा रहंदा कमाएको सम्पत्तिको सुरक्षा र एनआरएन कार्डका आधारमा आर्थिकलगायतका कार्य गर्न पाएपनि अन्य अधिकारका लागि अझै समस्या रहेको उनको भनाइ छ ।

‘गैरआवासीय नेपालीहरूले विदेशमा संघर्ष गरेर कमाएको पैसा सदुपयोग होस् र त्यसले आगामी दिन सहज बनाउन सहयोग पुगोस्,’ उनले भने । वर्तमान कार्यसमितिले कोरोना भाइरस महामारीका बाबजुद आफ्ना काममा तीव्रता दिएको केसीले बताए । ‘दुई वर्षको अवधिमा एनआरएनए सदस्यहरू करिब ७० हजारबाट १ लाख ६ हजार पु¥याइएको छ ।’

सन् २०१९ मा निर्वाचित नयां कार्यसमितिले पहिले हुन नसकेका काम गर्ने प्राथमिकता क्रम निर्धारण गरेर फत्ते गरेको केसीको भनाइ छ ।

‘यस अवधिमा विधान संसोधन गर्दै युवा र महिलाहरुका लागि प्रतिनिधित्व सुनिश्चित गर्न विभिन्न नयां पदहरू सिर्जना गर्नु महत्वपूर्ण उपलब्धि हो,’ डा. केसीले भने । त्यसैगरी राजनीतिक हस्तक्षेप र पैसाको चलखेल रोक्न अनलाइन भोटिङको व्यवस्था मिलाइएको उनले बताए । लाप्राक बस्ती हस्तान्तरण, एनआरएनए फाउन्डेसन तथा विदेशमा रहेका बौद्धिक व्यक्तित्वलाई समेट्न एनआरएनएको पोलिसी इन्स्टिच्यूट स्थापना गर्न वर्तमान कार्यसमितिले महत्वपूर्ण कार्य भएको डा. केसीले बताए ।

त्यसैगरी, ५० देशमा २ हजार ५ सयभन्दा बढी स्वयंसेवक परिचालन गरेर कोरोना भाइरस पीडित नेपाली समुदायलाई ठूलो सहयोग गरिएको उनले जानकारी दिए । राहत तथा पुनःस्थापनाका कार्यका लागि भाइरसको मारमा परेका देशका राष्ट्रिय समन्वय परिषद् र एनआरएनए पदाधिकारी अहोरात्र खटेका उनले बताए । ‘बेल्जियम, न्यूजिल्याण्डलगायतका देशका पदाधिकारीले त्यहांका सरकार तथा अन्तर्राष्ट्रिय श्रम संगठन लगायतसंग सहयोग लिएर पीडितलाई आवश्यक सहयोग गरेका छन् । यो निकै सराहनीय कार्य हो,’ डा. केसीले भने ।

एनआरएनएमा बौद्धिक व्यक्तित्वको छबि बनाएका डा. केसी १८ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । उनी सन् २००७ मा एनआरएन रुसको महासचिव, २००९ देखि दुई कार्यकाल केन्द्रिय सदस्य, २०१३ देखि २०१५ सम्म कोषाध्यक्ष भएका थिए । २०१५ देखि दुई कार्यकाल महासचिव बनेका डा. केसी वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् ।

करिब ८० जना पत्रकारहरूको उपस्थिति रहेको अन्तरक्रियामा बोल्दै एनआरएनए महासचिव डा. हेमराज शर्माले एनआरएनएमा पछिल्लो समय देखिएका विकृत र विसंगति अन्त्य गर्न वर्तमान कार्यसमितिले काम सुरु गरिसकेको र आगामी कार्यसमितिले पुरा गर्ने बताए ।

‘दुई वर्षको अवधिमा सहयोग, राहत, पुनःस्थापना तथा लगानीका क्षेत्रका साथै संघ विस्तारका लागि हामीले धेरै महत्वपूर्ण कार्यहरू ग¥यौं,’ डा. शर्माले भने ‘अझै केही गर्न बा“की छ, त्यो हामी आगामी कार्यकालमा सम्पन्न गर्नेछौं ।’

डा. शर्माले एनआरएनलाई विशुद्ध सामाजिक सेवामूलक संस्थाका रुपमा अघि बढाउंदै जन्मभूमिको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न डा. बद्री केसीको समूह विजयी हुनुपर्ने बताए । डा. शर्माले एनआरएनको आगामी कार्यकालका लागि डा. बद्री केसी समूहबाट उपाध्यक्षको उमेद्वारी घोषणा गरिसकेका छन् ।

त्यसैगरी, महिला उपाध्यक्षकी उमेद्वार यास्मिन वेगमले एनआरएनएमा महिलाहरुको प्रतिनिधित्व गर्दै आफू उपाध्यक्षको उमेद्वार बनेको बताइन् । एनआरएनको सुधार र संघको भावी कार्ययोजनाबारे सल्लाह तथा सुझाव दिएकोमा पत्रकारहरुलाई विशेष धन्यवाद दिंदै वेगमले एनआरएनएलाई सबैको साझा संस्था बनाउन आफू सदैव प्रयत्नशील रहेको बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू