मंगलबार, असोज ५, २०७८
16:03 | २०:४८

बौद्धिक भ्रष्टाचारले बिग्रेको हाम्रो समाज

डा. बच्चु कैलाश कैनी अगस्ट ३०, २०२१

डा. बच्चु कैलाश कैनी

बौद्धिक वर्ग भन्नाले सामान्यतया पढाइ, अनुभव, योग्यता, दक्षता, सिप आदिबाट बुद्धि आर्जन गर्ने वा बुद्धिको उपयोग गर्न सक्ने वर्ग भन्ने बुझिन्छ।  मानिस पढाइले मात्रै बैद्धिक हुन्छ भन्ने होइन् । अन्य कुराले पनि मानिस बौद्धिक हुन सक्छ । कसैले कुनै विषयमा ब्याचलर, मास्टर वा पिएचडी गर्दैमा मानिस बौद्धिक हुने भन्ने पनि होइन् । बौद्धिक हुन ज्ञान, सिप, अनुभवको सहि र विवेकपूर्ण ढंगले प्रयोग गर्न सक्ने भन्ने बुझ्नु पर्छ।

मान्छे जति बौद्धिक हुन्छ त्यति नै बढी उसले आफ्नो बुद्धि र विवेकको उपयोग गर्न सक्छ भन्ने बुझिन्छ । मानिसमा जति बढी बौद्धिक क्षमता भयो उति नै बढी छिटो, सरल र सहज किसिमले समस्या समाधान गर्ने क्षमता हुन्छ। तर, यो क्षमता अनैतिक किसिमले धन वा पद आर्जन गर्न, देश वा समाजको अपेक्षा विपरित काम गर्न र आफ्नो स्वार्थका लागि मात्रै प्रयोग गर्ने हो भने त्यसलाई 
बौद्धिक भ्रष्टाचार भनिन्छ । अर्थात्, यो कसैको बुद्धि र ज्ञानको दुरुपयोग भन्ने बुझ्नु पर्छ।

मानिसको बुद्धि भ्रष्ट भए पछि आर्थिक भ्रष्टाचार गर्छ। बौद्धिक भ्रष्टाचार र आर्थिक भ्रष्टाचार सम्बन्धित कुरा हुन्, तर एउटै कुरा होइनन् । सबै पद आर्थिक लाभका पद हुंदैनन्। कतिपय अवस्थामा आफ्नो समूह वा कसैको स्वार्थका लागि काम गरिदिनु पनि बौद्धिक भ्रष्टाचार हो । त्यस्तै, केवल आफ्नो स्वार्थका लागि वा पैसा बिना पद लिनका लागि चलखेल गर्नु बौद्धिक भ्रष्टाचार हो ।

चाणक्यले पनि भन्नु भएको छ ज्ञान र सिकाई केवल किताबमा मात्रै राख्ने वा कहिं जम्मा गर्ने हैन, जीवनको हरेक पल र तहमा ज्ञान र सिकाइको सहि उपयोग गर्नु पर्छ। किताबी ज्ञानले मात्र बौद्धिकता बढाउंदैन। न त कसैले कोही बौद्धिक वा बिज्ञ हो भन्दैमा मानिस बौद्धिक हुन सक्छ। बौद्धिक हुनका लागि आफूले जानेको ज्ञान, सिप र अनुभवलाई ब्यवहारमा उतार्न सक्नु पर्छ।

हालै सर्वोच्च अदालतबाट प्रकाशित प्रतिवेदनले अदालतमा हुने गरेका भ्रष्टाचार, विसंगति र बेथितीको बयान गरेको छ । सबैतिर आशा हराए जाने ठाउँ हो अदालत । बर्षौंको मिहेनत, अनुभव, पढाई, त्याग र कामले बन्ने हो न्यायधिश । अदालतमा जस्तो बौद्धिक व्यक्तित्व सायद अन्य कुनै ठाउंमा भेटिनु पर्ने हो । तरपनि अहिलेको परिवेशमा अदालतमा जस्तो धेरै विसंगति सायद अन्य कुनै निकायमा देखिन्छ ।

न्यायमूर्तिहरु नै लाभका लागि न्यायधिश बन्ने, आफ्नै नजिकका मान्छेमार्फत मुद्धामा चलखेल गर्ने, चाकडी र चाप्लुसी गरेर वा राजनीतिज्ञहरुको ढोका चहारेर उनीहरुकै कोटामा न्यायमूर्ति बन्न चाहेको परिणाम हो अदालतको विसंगति र विकृति । यो पनि एक किसिमको बौद्धिक भ्रष्टाचारको नमूना हो।

त्यस्तै हाम्रो समाजमा वकिलहरु बौद्धिक वर्गका मानिन्छन् । समाजमा न्याय स्थापित गराउन रजनताको हक हितका लागि उनीहरुको भूमिका अहं हुन्छ। तर, तिनै वकिलको सहारा नहुने हो भने अदालतमा हुने भ्रष्टाचार, विकृति र विसंगति मौलाउन पाउंदैन् । त्यसैले बौद्धिक भ्रष्टाचार गर्न उनीहरु पनि कम छैनन्।

यस्तै नमूना अन्य हरेक क्षेत्रहरु जहां बौद्धिक व्यक्तित्वहरुको सहभागिता र संलग्न हुन्छ त्यहाँ पनि देख्न सकिन्छ। सबैभन्दा बौद्धिक वर्ग काम गर्ने चिकित्सा क्षेत्र अहिले मेडिकल माफियाको हातमा छ भन्ने गरिन्छ । चिकित्सा शिक्षामा अहिले पनि डा. गोबिन्द केसी जस्ता एकदम नगन्य बुद्दिमान व्यक्तिहरुले धेरै बुद्धि भ्रष्ट व्यक्तिहरुविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था छ। यो पनि बौद्धिक भ्रष्टाचारको नमूना नै हो।

आजकल समाचार हेर्ने हो भने इञ्जिनियरिङ्ग, ठेक्का पट्टा र कमिसन अहिले नेपालमा एक अर्कोको परिपुरक हुन् जस्तो लाग्छ । कमसल निर्माणको नमूना जतातेतै देख्न सकिन्छ। बाटो बनेको दुई चारमहिनामा नै भत्कने, निर्माण कार्यमा कमजोर र गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको कुरा आजकल सुन्न र जान्न सकिन्छ । यस्ता कामको निर्माण सम्पन्न भएको व्यहोरा प्रमाणित गर्ने र भुक्तानी सिफारिस गर्ने काम प्राविधिकको हो। अनि यस्ता प्राविधिक जसले सही र गलत के हो भन्ने एकिन गर्न सक्दैनन्, यो सबै बुद्धि भ्रष्ट हुन्। यो पनि बौद्धिक भ्रष्टाचारको नमूना हो।

आजकल प्रहरी, प्रशासन, सेना, राजनीति, ब्यापार, व्यवसाय, उद्योगधन्दा आदि सबैतिर यस्तै बुद्धि भ्रष्टहरुको हालीमुहाली छ । जहां बौद्धिक भ्रष्टाचारको धेरै नमूना देख्न र सुन्न सकिन्छ । कागजमा भ्रष्टाचारविरुद्ध जस्तो सुकै लेखिएको भए पनि त्यही लेख्ने मानिसबाट नै भ्रष्टाचारको शुरुवात हुन्छ। नीति, नियम, एन, कानून बनाउने राजनीतिज्ञहरु अहिले सबै भन्दा बढी बदनाम छन्। बौद्धिक भ्रष्टाचारको अर्को नमूना हेर्न सांसद भवनभित्र छिरे पुग्छ।

प्रहरी प्रशासनमा पनि त्यस्तै छ । जसले जे भने पनि हाम्रो समाजमा कानून विपरित गर्ने विरुद्ध दण्ड चलाउने प्रहरी नै भ्रष्टाचारको दण्ड हातमा लिएर हिंडेको कुरा बाटो बाटोमा देख्न सकिन्छ। दाम कमाउने ठाउंमा हुने सरुवा, बढुवा आदिमा पनि पैसाकै चलखेल हुन्छ भन्ने गरिन्छ । त्यति मात्रै होइन्, मुद्धा कमजोर बनाउने वा बलियो बनाउने कुरामा पनि मोलमलाई हुन्छ भन्ने कुराहरू आएको छ। यी सबै बौद्धिक भ्रष्टाचारकै नमूना हुन्।

माथि उल्लेखित यी कुराहरु बौद्धिक भ्रष्टाचारका केवल केही प्रतिनिधि उदाहरण मात्रै हुन्। हाम्रो नेपाली समाजमा विकास र प्रगतिको बाधक कोही छ भने त्यो बौद्धिक वर्ग नै हो। जो अगुवा छ उही बुद्धि भ्रष्ट छ। जो धेरै पढे लेखेको छ उही आफ्नो निहित स्वार्थका लागि लागेको प्रशस्तै उदाहरणहरु छन्। यहां धेरै कम महावीर पुनहरु छन् भने अति नै बढी बुद्धि भ्रष्ट बुद्धिमानहरु छन् जसको प्रतिनिधिपात्र जताततै नेपाली समाजमा देख्न सकिन्छ।

नेपालमा सामान्य जनताको जीवन निकै कष्ठपूर्ण छ। उनीहरुलाई दैनिक जीवनयापन गर्न नै कठिन छ। उनीहरुलाई न भ्रष्टाचार गर्नु छ न आफ्ना मानिसको स्वार्थका लागि काम गर्नु छ। उनीहरुको स्वार्थ आफ्नो दैनिकी र घर परिवार चलाउनु मात्रै हो । त्यति मात्रै हैन, उनीहरुको ज्ञान, बुद्धि, अनुभव र हैसियत भ्रष्टाचार गर्ने सम्मको हुंदैन् । बौद्धिक वर्गले गर्ने भ्रष्टाचारको सिकार भने यहि वर्ग हुन्छ।

जबसम्म समाजका अगुवा, पढे लेखेका, जिम्मेवार पद सम्हाल्ने, जान्ने बुझ्ने आदि बौद्धिक वर्गले आफ्नो बुद्धि र विवेकको सही प्रयोग गर्न सक्दैनन् तबसम्म हाम्रो समाजको उत्थान र देशको प्रगति हुन सक्दैन् । नेपाल र नेपाली समाजमा बौद्धिक भ्रष्टाचारको अन्त्य नभएसम्म गरिवी, कुशासन, थिचोमिचो, विकृति र विसंगति अन्त्य हुन सक्दैन् ।

(माथि उल्लेखित धारणा लेखकको निजी हुन्, लेखक आवद्ध संस्थाको विचार होइन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू