आइतबार, ३१ मे, २०२६
15:44 | २०:२९

२४औं गोर्खाकप समीक्षा- दर्शकको नयां रेकर्ड, व्यवस्थापन अझ परिष्कृत

नेपाली लिङ्क मे ३१, २०२६

 

लन्डन- बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो इभेन्ट २४ औं गोर्खाकप ऐतिहासिक बन्दै गत साता सम्पन्न भयो । यसपटकको संस्करण धेरै कोणबाट पृथक बनेको आयोजक तमुधिं यूकेको निष्कर्ष छ ।

यसै संस्करणमा प्रतिष्पर्धी फुटबल टिम बढाएर ५७ पुरयाइएको थियो भने पुरस्कार राशी पनि विगत भन्दा बढी (मेन वीनरलाई ३५ सय पाउण्ड) थियो ।

सुन्दर मौसमबीच विगत भन्दा दर्शक उपस्थिति संख्या पनि २० हजार हाराहारी र खेल अझ परिष्कृत बनेको तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले जनाए ।

अध्यक्ष गुरुङले नेतृत्व सम्हालेपछि भएको दोश्रो गोर्खा कप सफल र ऐतिहासिक बन्नुमा धेरै पक्ष प्रमुख कारण बने । विगत इभेन्टहरुमा हुने गरेका कयौं जनगुनासालाई सम्बोधन गर्दै तमुधिं यूकेले यस वर्ष इभेन्ट अझ परिष्कृत बनाएको हो ।

विशेषगरि यसअघि दर्शकहरुले खानाका स्टलमा मनपरी शुल्क, स्वच्छता (फुड हाइजिन) को कमी र खेल समापनपछि कार निकाल्न हुने गरेको सास्तीप्रति निकै चासो व्यक्त गर्ने गरेका थिए । त्यस्तै, शौचालयहरुको संख्या र सफाइ स्तरबारे पनि दर्शकले फाट्टफुट्ट गुनासो गर्ने गरेका थिए ।

तिनै जनगुनासा र सुझाव सुनेर यसपटक भने तमुधिं यूकेले फुड हाइजिन कप्लाइन्स कडा रुपमा लागू गर्यो । खाना मूल्य पहिले नै निर्धारण गर्दा व्यवसायीहरुले आफू खुशी पैसा लिन पाएनन् । साथै, खेल समापनपछि मैदानको अग्रभाग र पछाडिको एक्जिट खुल्ला गरिंदा कारहरु बिना रोकावट आफ्नो गन्तव्य लाग्न पाए ।
शौचालयमा लामो लाइन बस्नुपरेन र स्वयमसेवकहरु खटाएर नियमित सफाइ सुनिश्चित गरियो ।

मानिसहरुको कमी कमजोरी त हुन्छन् नै, तर त्यसलाई सुधार्दै जान सक्नु नै बुद्धिमता हो, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले भने, हामीले यसपटक सर्वसाधारणको चासोलाई बढी प्राथमिकता दिएर कमी कमजोरी सुधार गरयौं भने हाम्रो टिमले पनि निकै मिहेनतका साथ आफ्नो जिम्मेवारी वहन गरयो ।

गोर्खा कपको २४ औं संस्करण संयोजन स्पोर्टस सेक्रेटरी क्या. दीपक घलेले गरेका थिए । गोर्खा कप फुटबल इभेन्टमात्र नभई व्यापार व्यवसाय प्रवर्धन, लामो समयदेखि भेट हुन नसकेका दौंतरीबीच एकापसमा भेटघाट र भलाकुसारी एवं नेटवर्किङको मुख्य स्थल बनेको थियो ।

गोर्खा कपमा यसपटक बालबालिकाका लागि बेग्लै फन फेयर व्यवस्था थियो जसका कारण यसअघि आफ्ना अभिभावकसंग एकछिन टिक्न नसक्ने बालबालिका पनि दिनभर रमाए । तमुधिं यूकेले खाना, च्यारिटी, लत्ता कपडा, आइसक्रिम, बबल टी, केक आदि गरि १२६ स्टल प्रवन्ध गरेको थियो । निम्त्याइएका करिब ४०० पाहुनाहरुलाई भिआइपी टेन्टमा दिवाभोज, चिया कफी समेत सर्भ गरिएको थियो ।

यसपटकको गोर्खाकपमा मौलिक नेपाली कला, संस्कृति झल्काउने सुन्दर कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए । तमुधिं लन्डन इकाइको स्वागत नृत्य, सयपत्री कल्चरल समूहको सांस्कृतिक नृत्यदेखि धौलागिरी नौमती बाजाको प्रस्तुतिसम्म कार्यक्रमका आकर्षण बनेका थिए ।

गोर्खाकपको २४ औं संस्करण सहभागी टीमहरु, पुरस्कार राशीदेखि व्यापारिक स्टलहरु र दर्शक सहभागितासम्म सबै कोणबाट विशाल र भव्य बन्यो।
व्यवस्थापनका हिसाबले पनि आयोजक तमुधिं यूके विगतमा भन्दा पनि थप चुस्त र सहज ढंगले कार्यक्रम सम्पन्न गर्न सफल भयो ।

कार्यक्रममा सहभागीहरुले पनि यसपटक खाना, शौचालय, पार्किङदेखि स्टलहरुसम्ममा आयोजकको कुशल व्यवस्थापन र विगतको तुलनामा सुधार देखिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू