बेलायतमा दिवंगत युवाको शव नेपाल पठाउन ४,७२३ पाउन्ड उठेपछि चन्दा अभियान स्थगित


लन्डन – हालै बेलायतमा निधन भएका युवा सुशील पौडेलको शव नेपाल पठाउन थालिएको चन्दा संकलन अभियान स्थगित गरिएको छ।
शव नेपाल पठाउन आवश्यक रकम जम्मा भइसकेकाले सहयोग संकलन कार्य स्थगित गरिएको एनआरएनए युकेले जनाएको छ।
लन्डनस्थित द ड्यानिस वाइएमसीएमा बस्दै आएका २६ वर्षीय पौडेलको हालै दुःखद निधन भएको हो । उनको निधनबारे गत अप्रिल २८ तारिखमा प्रहरीमा रिपोर्ट गरिएको थियो।
उक्त घटनाबारे हाल कोरोनरको कार्यालयमार्फत अनुसन्धान प्रक्रिया जारी छ।
एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनीले शुक्रबार (२९ मे) रातीसम्म £४,७२३ संकलन भएको जानकारी दिए। उनले £४,५०० संकलन गर्ने लक्ष्य राखिएकोमा १०६ प्रतिशत लक्ष्य पूरा भएको पनि जनाए।
“आफ्नो छोराको मुख हेर्न र आफ्नो परम्परा तथा संस्कृतिअनुसार अन्त्येष्टि संस्कार सम्पन्न गर्न स्वर्गीय सुशीलकी आमाले छोराको शव नेपाल पठाइ दिन अनुरोध गर्नु भएपछि हामीले सहयोग संकलन अभियान थालेका थियौं । विगतमा जस्तै यो मानवीय कार्यमा सहयोग गर्नु हुने सबै सहयोगदाताप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं,” अध्यक्ष पुडासैनीले भने।
कोरोनरको कार्यालयबाट सम्पूर्ण प्रक्रिया पूरा भएको जानकारी प्राप्त हुनासाथ पौडेलको शव नेपाल पठाइने उनले बताए।
स्व. सुशीलका पिता देवराज पौडेलको तीन वर्षअघि नै निधन भइसकेको थियो। सुशील नै परिवारको एकमात्र आर्थिक आधार थिए ।
उनको निधनको खबरपछि गम्भीर मानसिक तनावमा रहेकी आमा यशोदा पौडेलले आफ्नो छोराको शव नेपाल पठाउन सहयोग गर्न आग्रह गरेकी थिइन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


